मनाङबाट चितवनसम्म १६०० मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार निर्माण अन्तिम चरणमा, १६ अर्ब लागत



काठमाडौं,चैत १५ । मर्स्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मर्स्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

२२० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गतका दुई ओटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको हो । ती सबस्टेसनको क्षमता पनि २२० केभी बराबर नै रहेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदिपुर सबस्टेसन आगामी असारभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणका काम भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा पनि २२० केभी क्षमताकाका सबस्टेसन निर्माणाधीन छन् ।

खुदी सबस्टेसन आगामी ६ महीनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिकरुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको छ ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन् । उदिपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरण निर्माणस्थलमा ढुवानी भइसकेका छन् । उपकरण जडान जारी छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, उत्पन्न भएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् ।

नयाँ भरतपुर र उदिपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् ।

खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरण निर्माणस्थलमा ढुवानी शुरू भएको छ ।

मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करीब १ हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदिपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदिपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई ओटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करीब १६ अर्ब रुपैयाँ बराबर छ । रासस

प्रतिक्रिया दिनुहोस्