मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग



काठमाडौं,चैत १५ । सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानबाट काठमाडौँमा आई आन्दोलनरत पीडितहरुको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आजको बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटर ब्याज पीडित सिरहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौँको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै मिटर उनीहरुको समस्या तत्काल समाधान गर्न सरकासँग माग गरे। उनले पीडितहरुको न्यायका लागि स्थानीय सरकार र केन्द्रीय नेतृत्वबाट पहल हुन नसकेको बताए । उनले भने, “राज्यका तर्फबाट यस्तो अवस्थामा कसरी समस्या समाधान गर्न सकिन्छ भनेर आवश्यक आर्थिक साक्षरता भएको देखिँदैन । नीति भनेको सम्भावनाको परिकल्पना हो । तर यस्तो सम्भावनाका लागि केन्द्रीय बैङ्कबाट यस्ता क्रियाकलाप किन रोक्न सकिएको छैन ?”

समय माग गर्दै बोल्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटर ब्याज पीडितहरुको माग चाँडोभन्दा चाँडो पूरा गरी पीडितहरुलाई न्याय दिन आग्रह गरे। उनले उनीहरुको समस्या बुझ्न जाँदा आफ्नो पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमाथि दुव्र्यवहार गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

सांसद लिङ्देनले कोशी प्रदेशको नामकरणपछि चर्किएको आन्दोलन मुठभेडतर्फ अगाडि बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समाधान खोज्न ध्यानाकर्षण गराए । “पूर्वमा भइरहेको आन्दोलनप्रति सरकारको धारणा के छ ?”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्