साहुको ऋण तिर्न आफ्नै पतिको हत्या, ‘जसले पैसा लिनुपर्ने हो, उनैले दिइन् ‘पति हत्या’को आइडिया’



राजविराज,चैत १६ । सप्तरीको कंचनरुपमा साहुको ऋण तिर्नको लागि एक महिलाले आफ्नै पतिको हत्या गरेको खुलेको छ । 

बीमा बापतको रकम लिएर ऋण तिर्ने उद्देश्यले आफ्नै पतिको हत्या गरेको प्रहरीले बताएको छ । कंचनरूप नगरपालिका-३, दास टोलकी कोशिलादेवी दासले आफ्नी देउरानी र भाउजू नाता पर्ने अर्की महिलाको सहयोगमा आफ्नै पति ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तो छ घटना विवरण

गएको कात्तिक ६ गते आफ्नै घरभित्र शिवशंकर दास करेन्ट लागेर मृत अवस्थामा भेटिएका थिए । शिवशंकर र उनकी पत्नी कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गर्नका लागि स्थानीय भाउजू नाता पर्ने शान्तिदेवी दाससँग ऋण लिएका थिए । सो ऋण चुक्ता गर्न शान्तिदेवीले कोशिला र शिवशंकरलाई धाकधम्की र गालीगलौज गर्दै आएकी थिइन् ।  

शिवशंकर र कोशिलादेवीले ऋण तिर्न नसक्ने बताउँदै आएका थिए । सहजै ऋण नउठ्ने देखेपछि शान्तिदेवीले शिवशंकरको हत्या गरे बीमाबापत ठूलो रकम आउने र सो रकमबाट ऋण चुक्ता हुने कोशिलादेवीलाई सुझाव दिएकी थिइन् । 

शान्तिदेवीको सल्लाह र ऋण चुक्ता हुने आसमा कोशिलाले पतिको हत्या गरेको दासले बयान दिएको इलाका प्रहरी कार्यालय, कंचनरुपका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

परीवारकै सहयोगमा यसरी भयो हत्या 

पूर्व योजना बमोजिम २०७९ कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नो घरमा बोलाएर अत्यधिक मादक पदार्थ सेवन गराइ घरतर्फ पठाइन् । प्रहरीका अनुसार मातेर घर गएका शिवशंकर भान्सा कोठामा गएर सुते । शान्तिदेवीको योजना अनुसार नै दासले सुतेका आफ्ना पति शिवशंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर बिजुलीको स्वीच थिचेकी थिइन् । घरमा करेन्ट लगाउने कार्यमा कोशिलादेवीलाई देउरानी हिरणदेवी दासले सहयोग गरेको प्रहरीले बताएको छ ।

करेन्ट लगाएर शिवशंकरको हत्या गरेपछि कोशिला देवीले आफ्नो पतिको करेन्ट लागेर मृत्यु भएको खबर प्रहरीलाई गरिन् । लासको प्रकृति हेर्दा प्रहरीलाई आफै करेन्ट लागेर मृत्यु भएकोमा शंका लाग्यो । त्यसपछि अनुसन्धानलाई अगाडि बढाएको प्रहरीले ६ महिना लगाएर गरेको अनुसन्धानपछि शिवशंकर करेन्ट लागेर नभइ करेन्ट लगाएर हत्या गरेको खुलेको हो ।

प्रहरीले शिवशंकरकी श्रीमती कोशिलादेवी, भाइबुहारी हिरणदेवी र भाउजू नाता पर्ने शान्तिदेवी दासलाई नियन्त्रणमा लिएको छ । बुधवार इलाका प्रहरी कार्यालय, कंचनरुपमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्