मन्त्रिपरिषद् विस्तार हुँदै



काठमाडौं,चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने बताएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्री प्रचण्डको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको सचिवालयले जनाएको छ । गठबन्धनको बैठक चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड चितवनको कार्यक्रमा सहभागी हुन उता जानुभएको थियो भने यता दलहरूको पनि आन्तरिक तयारी पूरा भएको थिएन । यी दुवै कारणले बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन नसकेको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार शुक्रबार बिहान एक चरण बैठक बसेर मन्त्री र मन्त्रालय चयनको विषयलाई अन्तिम रूप दिइनेछ । त्यसपछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइनेछ । बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि शुक्रबार सरकारले पूर्णता पाउने बताए । मन्त्रालय बाँडफाँटका बारेमा सत्ता गठबन्धनका दलहरूबीच सहमति भइसकेको तर नेपाली कांग्रेसको कार्यसम्पादन समितिबाट प्रस्तावित नाम आउन ढिलाइ हुँदा मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सारिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्