हिँड्नुहुन्न ? होस गर्नुस्– रोगले च्यापेर छिटै मरिएला !



काठमाडौं,चैत २१ । तपाईं हिँड्नुहुन्न ? कि हिँड्ने चाहना भएर पनि कार्यव्यस्तताले पाउनुभएको छैन ? यदि यसो हो भने अब खेलाँची नगर्नुस् । दैनिक हिँड्न नसके पनि हप्तामा कम्तीमा दुई दिन ८/८ हजार पाइला हिँड्नुस् । नत्र कालको मुखमा छिटै परिएला !

जापानी अनुसन्धाताहरूले गरेको एउटा अनुसन्धानले यस्तै कुरा खुलाएको छ । अनुसन्धान अनुसार नहिँड्ने व्यक्तिको तुलनामा हप्तामा एक वा दुई दिन मात्रै ८/८ हजार पाइला हिँड्नेहरूको मृत्यु दर १५ प्रतिशत घटेको देखाएको छ । अमेरिकीहरूमाझ भएको एउटा स्वास्थ्य सर्वेक्षणको तथ्यांकलाई केलाएर अनुसन्धानकर्ताहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

अध्ययनमा क्योटो विश्वविद्यालय र अन्य संस्थाका अनुसन्धानकर्ता टोली सहभागी भएका थिए । ८ हजार वा सोभन्दा धेरै पाइला हिँड्ने बानी भएका मानिसहरूको मृत्युको दर कम हुने भनेर यसअघि नै भएका अध्ययनले देखाएको थियो । तर, त्यसमा हिँडाइको आवृत्ति भने कस्तो भन्ने कुरा खुलेको थिएन ।

एक जना बहिरंग बिरामीले आफू सप्ताहन्तमा अलि बढी हिँड्ने तर अरु बेलामा कम वा नहिँड्ने गरेकाले यसले आफ्नो स्वास्थ्यमा पार्ने असरबारे क्योटो विश्वविद्यालयको ग्रयाजुएट स्कूल अफ मेडिशिनका सामाजिक महामारी विज्ञानका सह–प्राध्यापक कोसुके इनोउएलाई सोधेका थिए । इनोउए यस अनुसन्धान टोलीका एक सदस्य पनि हुन् । सोही बिरामीको चासोलाई विचार गरेर उनले यस्तो खालको अनुसन्धान गरेका थिए । 

अध्ययनका क्रममा हप्तामा कुनै व्यक्ति एक÷दुई दिन कम्तीमा ८ हजार पाइला हिँड्दा १० वर्षपछिको मृत्यु दर कस्तो हुन्छ भनेर निकालिएको थियो । हप्तामा एक दिनसमेत ८ हजार पाइला नहिँड्नेको तुलनामा एक वा दुई दिन सोही स्तरमा हिँड्नेको मृत्युदर एक दशकपछि १४ दशमलव ९ प्रतिशत कम हुने पाइएको छ ।

हप्तामा तीन दिनदेखि ७ दिन सोही मात्रामा हिँड्नेको मृत्यु दर भने १६ दशमलव ५ प्रतिशत कम थियो । मुटु वा रक्तधमनीमा देखिने समस्या वा असामान्यताका कारण मर्ने सम्भावना पनि नहिँड्नेको भन्दा एक वा दुई दिन मात्रै हिँड्नेको ८ दशमलव १ प्रतिशत कम थियो । त्यसैगरी तीनदेखि ७ दिन हिँड्नेमाझ भने त्यस्ता समस्याका कारण मर्ने सम्भावना ८ दशमलव ४ प्रतिशत कम भेटियो ।

उमेर समूह वा लिंग जुनसुकै भए पनि दिनमा ६ हजार पाइलाभन्दा कम वा १० हजार पाइलाभन्दा धेरै हिँड्नेमा पनि यस्तै खालको प्रवृत्ति भेटियो । हप्ताको केही दिन मात्रै ८ हजार पाइला वा सोभन्दा बढी हिँड्ने व्यक्तिलाई मृत्युको जोखिम कम हुने अनि मुटु र रक्तबाहिनी नलीमा लाग्ने रोगबाट मर्न सक्ने सम्भावना घट्ने यो अध्ययनले देखाएको छ ।

यसैका आधारमा अनुसन्धानकर्ता इनोउएले हप्तामा कम्तीमा एक वा दुई दिन ८ हजार पाइला हिँड्न सुझाएका छन् । 

प्रतिक्रिया दिनुहोस्