आईपीओ ल्याएको ‘सिटी होटेल’को सञ्चालन आम्दानी १९ करोड, ३ अर्ब २५ करोड रुपैयाँ ऋण लिँदै



काठमाडौं,चैत २३ । रेटिङ् कम्पनी केयर रेटिङ्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार सिटी होटलले एक वर्षमा १९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अहिले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपीओ निष्कासन गरेको छ भने सर्वसाधारणलाई केही समयमा आईपीओ जारी गर्ने छ ।

गोल्यान ग्रुपको स्वामित्व भएको कम्पनीले कुल १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ पूँजीको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर निष्कासनको लागि सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले अहिले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकहरूले २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले रेटिङ् कम्पनी केयर रेटिङ्स नेपालबाट ३ अर्ब २५ करोड रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ् गराएको छ । कम्पनीले ३ अर्ब १७ करोड ६२ लाख ९० हजार रुपैयाँ दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र ८ करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि एफोर प्लस रेटिङ पाएको छ ।

गत नोभेम्बर २०२१ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको पाँचतारे सिटी होटल सोल्टीमोडमा छ । होटलको कोठा क्षमता १५३ ओटा रहेको छ । होटलले हायात होटल कर्पोरेसनको स्वामित्वमा रहेको हायात इन्टरनेशनल–साउथ इस्ट एशियासँग होटल म्यानेजमेन्ट एग्रीमेन्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्