लगानीकर्ता पर्ख र हेरको अवस्थामा ,कारोबार रकम ८१ करोड ६० लाख रुपैयाँमा सीमित
काठमाडौं,चैत २३ । नेप्से परिसूचक लगातार चार दिन घटेपछि पाँचौं दिनमा बढेर बन्द भएको छ ।
साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव ४५ प्रतिशत बढेर १ हजार ८७५ दशमलव ०७ विन्दुमा पुगेको हो ।
बजार बढेपनि कारोबार रकम भने बढेको छैन । लगानीकर्ताहरु बजार प्रति विश्वस्त नहुँदा लगानी भने बढाएका छैनन् । बजार धेरै नै घटेकाले विक्रेताहरु सस्तो मूल्यमा बेच्न नचाहेको र अहिलेको परिवेशमा लगानीकर्ताहरु महँगो मूल्यमा खरीद गर्न राजी नभएको बजारका जानकारहरु बताउँछन् । बजारमा केही समय पर्ख र हेरको अवस्था सृजना भएको छ ।
बजारमा उतारचढावको मात्रा एकदमै न्यून हुनु अनि कारोबार रकम पनि सुस्त रहनुले यो लाइनमा शेयरहरु अकुमुलेसन भइरहेको विश्लेषकहरु बताउँछन् ।
पछिल्लो समय बजार निरन्तर घटेर लगानीकर्ताहरु निरुत्साहित रहेको समयमा नियामक निकायले नीतिगत रुपमा सुधार हुनै पर्ने पुराना लगानीकर्ता डम्बरु बल्लभ घिमिरे बताँछन् । शेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमा हटाउन पर्ने घिमिरेको भनाई छ ।
बुधवार कारोबारमा आएका २६२ धितोपत्रको २६ लाख २ हजार ९५६ कित्ता शेयर २१ हजार ५०४ पटकमा रू. ८१ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ९७ अंक बढेको छ । त्यस्तै फ्लोट इन्डेक्स शून्य दशमलव ६४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोटेड इन्डेक्स पनि शून्य दशमलव ६४ अंक बढेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य रू. २८३ दशमलव ५० पुगेको छ । त्यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८ दशमलव ०७ प्रतिशत बढेर रू. ८ दशमलव ७० पुगेको छ ।
बुधवार सबैभन्दा बढी सिटीजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ७ दशमलव १४ प्रतिशत घटेसँगै सबैभन्दा बढी गुमाएका हुन । इकाई मूल्य रू. ७ दशमलव २८ मा झरेको छ । त्यस्तै दोस्रोमा न्यादी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५८ प्रतिशत घटेर रू. ३२५ कायम भएको छ ।

