सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की



एजेन्सी,चैत २८ । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन् ।

हालै उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई प्रसंशकहरूले रुचाइरहेका छन् । तर, यही बीचमा सलमानलाई पुनः एकपटक ज्यान मार्ने धम्की आएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले प्रहरी कन्ट्रोल रुममा फोन गरेर सलमानलाई मार्ने बताएका छन् । यससँगै ती व्यक्तिले प्रहरीलाई सलमानको हत्याको मिति पनि बताएका छन् ।

अज्ञात व्यक्तिले सोमबार राति ९ बजे मुम्बई प्रहरी कन्ट्रोल रुममा फोन गरेर ३० अप्रिलमा सलमानलाई मार्ने बताएका छन् । यससँगै उक्त व्यक्तिले आफ्नो नाम रकी भाइ रहेको समेत बताएका छन् । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्