शीर्ष ६ मा पुग्न नेपालले ओमानलाई हराउनैपर्ने
काठमाडौं,कात्तिक २। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा खेल सुरु भएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँदै अङ्क तालिकाको शीर्ष ६ स्थान सुरक्षित गर्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओमानसामु ठूलो योगफल खडा गर्दै जितको आधार तयार पार्ने लक्ष्य लिएको छ।
यसअघिको खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपाल अङ्क तालिकाको सातौँ स्थानमा झरेको थियो। छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले ओमानविरुद्धको जितले नेपाललाई शीर्ष ६ मा पुर्याउनेछ।
यसअघि यही शृङ्खलाको दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दुई टोलीबीच हालसम्म भएका १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुवैले समान ६–६ खेल जितेका छन्। पछिल्ला तीन भेटमा भने नेपाल लगातार विजयी भएको छ।
नेपाल आज पनि ओमानविरुद्ध जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

