भारतको स्टार्ट अप कन्भेन्सन कसरी बन्यो घोटाला कान्ड ?



काठमाडौं,चैत २८ । गएको महीना भारतमा स्टार्ट–अप कम्पनीका लागि ‘फन्डिङ कार्यक्रम’को आयोजना गरियो । आयोजकहरुले तीन दिने World Startup Convention (डब्ल्यूएससी) लाई विश्वको सबैभन्दा ठूलो फन्डिङ पर्वको रुपमा बडाई चढाई गरेका थिए । अब विश्वको सबैभन्दा ठूलो फन्डिङ समारोह भएपछि आफ्नो व्यवसायका लागि लगानी गरिदिने व्यापारीहरु भेटिने लोभमा स्टार्ट–अपका संस्थापकहरु पनि कार्यक्रममा आए ।

सन् २०२१ र सन् २०२२ को अधिकांश समय भारतीय स्टार्ट अप प्रणालीमा लगानीको बाढी नै आयो । कम्पनीहरुले कहिले नदेखिएको स्तरमा लगानी उठाए । यसैबीच रातारात कम्पनीहरु युनिकर्न अर्थात् १ अर्ब डलर वा सोभन्दा बढी मूल्यांकनमा परिणत भए । विश्वको आर्थिक सुस्ती र अवरोधबीच लगानी घट्न थालेका स्टार्ट अपले सम्मेलनबाट निकै आशा गरेका थिए । तर समारोहले राहत भने दिएन । मार्च २४ मा कार्यक्रम शुरु भएको केही घन्टामै समारोह अराजक बन्यो । सहभागीहरु टिकट किनेर सम्मेलनमा सहभागी हुन आएका थिए । 

सम्मेलनको वेबसाइटका अनुसार यसको मुख्य अतिथिहरुमा केन्द्रीय परिवहन मन्त्री नितिन गड्कारी र केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडबिया आदि थिए । कार्यक्रमको प्रचार प्रसारका लागि इन्फ्लुएन्सरहरुको समेत प्रयोग गरिएको थियो । समारोहमा १ हजार ५०० भेञ्चर क्यापिटलिष्ट (जोखिम मोलेर लगानी गर्ने लगानीकर्ता), ९ हजार एन्जल इन्भेष्ट (कम्पनीको शेयर लिएर लगानी गरिदिने लगानीकर्ता) र ७५ हजार स्टार्ट अप कम्पनी सहभागी हुने दाबी प्रचार प्रसारमा गरिएको थियो ।

तर निकै आशा लिएर आएका सहभागीहरुले कार्यक्रममा आएको कयौं घन्टासम्म पनि कुनै लगानीकर्तालाई देखेनन् । आफूहरुलाई झुठो आशा देखाएर बोलाइएको अनि आफूमाथि धोका भएको आरोप कयौं सहभागी र प्रायोजकहरुले लगाउन थाले । दिउँसो अढाई बजेसम्म मुख्य अतिथि नीतिन गड्कारीको भर्चुअल भाषण स्थगित गरियो । सम्मेलन स्थल युद्ध मैदान जस्तै बन्यो । सहभागीहरु लगानीकर्ता कर्ता छन् भनेर प्रश्न गर्दै थिए । तर आयोजकहरुसँग यसको कुनै उत्तर थिएन ।

उनीहरुले उल्टै केही उद्यमीहरुलाई सम्मेलनमा अवरोध पुर्‍याएको आरोप लगाउँदै थिए । साँझसम्म सम्मेलनको आयोजकहरुमाथि धोकाधडीको आरोप सहित प्रहरीमा ऊजुरी पर्यो । डब्ल्यूएससीका आयोजक क्यूओफाउन्डर प्रा. लि.का सह–संस्थापकहरु ल्यूक तलवार र अर्जुन चौधरीले आफूमाथिको आरोपको खन्डन गरे । भारतीय जनता पार्टी (बीजेपी) विरुद्धकाहरुले कार्यक्रम ध्वस्त पारेको भन्दै उनीहरुले प्रहरीलाई बोलाए ।

तर कार्यक्रममा सहभागी भएकाहरुले गरेको पिचिङ पनि लगानीकर्ताले नसुनेर अन्य स्टार्ट अपका संस्थापकहरुले नै सुनेको सहभागीहरुको आरोप छ । यसको के अर्थ भयो ? रिसाएका लगानीकर्ताहरुले उल्टै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा क्रुद्ध सहभागीहरुले डब्ल्यूएससीबारे तितो अनुभवबारे सामाजिक सञ्जालमा पोष्ट गरेका गिए । गूगलको रिभ्यूमा पनि नकारात्मक टिप्पणी छाडिदिए । कयौं कम्पनीहरुले आफूलाई भ्रमित बनाएर प्रायोजन गर्न लगाएको बताएका छन् ।

यस मामिलामा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै बीबीसी र बीबीसी हिन्दीमा समाचार छापिएका छन् । यस मामिलामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । एउटा कम्पनीले सम्मेलनको प्रायाजनमा ४५ हजार डलर खर्च गरेको थियो । 

डब्ल्यूएससीको कार्यक्रमहरु देखेर आफू अति नै निराश बनेको अर्को प्रायोजक सफ्टवेयर विकासकर्ता मञ्च Builder.ai ले भनेको छ । उनीहरुले आफ्नो पैसा फिर्ता गर्न आयोजकहरुलाई अनुरोध गरेका छन् । तर आयोजकहरुले यसको उत्तर नदिएको उनीहरुको गुनासो छ । आफूलाई पनि भ्रमित बनाइएको कम्पनीले बताएको छ । अन्य प्रायोजकहरुले पनि यस्तै खालको आशयसहितको ट्विट गरेका छन् । 

प्रदर्शनमा उत्रिएका उद्यमीहरुका कारण कार्यक्रम अस्तव्यस्त बनेको अनि प्रायोजक र इन्फ्लुएन्सरहरु रिसाएको आरोप आयोजकहरुको छ । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अल्फाबेटका सीईओ सुन्दर पिचाई अनि ट्विटरका प्रमुख एलन मस्कसमेत समारोहमा सहभागी हुने छाप आफूहरुमा परेको केही प्रायोजक र सहभागीहरुको थियो । आयोजकहरुले जनवरीमा यही सम्मेलनमा यी नाम प्रयोग गरेका थिए । सम्मेलनको मिति सरेपछि मार्चको सम्मेलनबाट यी नाम झिकिएको आयोजकहरुको भनाइ छ ।

यो समारोहलाई इन्डोर्स गर्ने केही  influencers हरुले  भारतको कानून अनुसार जरिवाना तिर्नु पर्ने हुन सक्ने बताइएको छ । रिसाएका उद्यमीहरुले आयोजकमाथि १ करोड २० लाख डलर ठगेको आरोप लगाएका छन् । सहभागी मानिसहरु र स्टार्ट–अपको संख्याका आधारमा सो आकडा निकालिएको हो । तर आयोजकहरुले भने सम्मेलनको कुल आम्दानी यसको एक छेउ पनि नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्