विश्वभर कम्प्युटरको विक्री घट्यो, मारमा एप्पल



एजेन्सी,चैत २८ । विश्वभर Personal Computer (पीसी)को विक्रीमा उच्च कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत कम हो ।

विक्री नभइकन उब्रिएको मौज्दात र खस्कदो बृहत् आर्थिक वातावरणका कारण विक्री प्रभावित बनेको हो । सो अवधिमा अमेरिकी प्रविधि कम्पनी Apple Inc को विक्री सबैभन्दा धेरैले घटेको छ । बजार अनुसन्धानकर्ता संस्था International Data Corporation (आईडीसी)का अनुसार सन् २०२२ को पहिलो त्रैमासमा विश्वभर कुल ८ करोड २ लाख थान पीसी बिकेका थिए ।

सन् २०२२ को अन्तिम त्रैमासमा पनि पीसी विक्रीमा यस्तै प्रवृत्ति देखिएको थियो । डिसेम्बर त्रैमासमा विश्वभर पीसीको विक्री २८ दशमलव १ प्रतिशतले घटेको थियो । प्रतिवेदनमा समावेश गरिएको शीर्ष पाँच पीसी कम्पनीहरूमध्ये विक्री सबैभन्दा धेरै एप्पलको घटेको छ । पहिलो त्रैमासमा एप्पलको विक्री ४० दशमलव ५ प्रतिशतले घटेको छ ।

यो सन् २०२२ को जनवरी-मार्चयताकै ठूलो कमी हो । डेल टेक्नोलोजीको विक्री पनि ३१ प्रतिशतले घटेको छ । लेनोभो ग्रुप, असुस्तेक कम्प्युटर इंक र एचपीको विक्रीमा पनि उच्च कमी आएको छ । गएको वर्षको अन्तिम त्रैमासमा नै एप्पलको म्याक कम्प्युटरको विक्री २९ प्रतिशतले घटेर ७ अर्ब ७० करोड डलरमा झरेको थियो ।

पछिल्लो समय विश्वका ठूला अर्थतन्त्रहरू सुस्ताउने थालेको चिन्ताले पनि विक्री प्रभावित भइरहेको छ । महँगी नियन्त्रण गर्न विश्वभर बढाइएको ब्याजदरले आर्थिक वृद्धिदर र वित्तीय लगानी दुवै प्रभावित पार्ने देखिएको छ ।

सन् २०२४ को शुरुदेखि आर्थिक गतिविधिहरू बढ्यो भने पुराना बन्दै गएको उपकरणहरू फेर्नु पर्ने आवश्यकताका कारण माग ह्वात्तै बढ्ने आशा गर्न सकिने आईडीसीका अधिकारी बताउँछन् । तर, प्रमुख अर्थतन्त्र मन्दीमा जाकिए भने पीसी बजारमा पुनःबहालीको आशा तुहिने निश्चितप्रायः छ ।

प्रतिक्रिया दिनुहोस्