दश जना अफ्रिकी आप्रवासीको डुबेर मृत्यु, ७२ जनाको उद्धार



एजेन्सी,चैत २९ । सब–सहारा अफ्रिकाबाट युरोप जाने क्रममा भूमध्यसागरीय क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना आप्रवासीको ट्युनिसियाको तटीय क्षेत्रमा डुबेर मृत्यु भएको छ ।

ट्युनिसियाको दोस्रो शहर स्फ्याक्समा मङ्गलबार भएको पानी जहाज दुर्घटनापछि ७२ आप्रवासीको उद्धार गरिएको र १० जनाको शव फेला परेको प्रवक्ता होउसेम जेबाब्लीले जानकारी दिए ।

पछिल्ला दशकमा गरिबी र द्वन्द्वको प्रभाबका कारण अफ्रिकी मुलुकहरूबाट यूरोप तथा अमेरिकालाई आफ्नो गन्तब्य बनाउने गरेका छन् । उनीहरूलाई मानव तस्करले ठूलो रकम असुलेर जोखिमयुक्त सामुद्रिक मार्गको प्रयोग गरी डुङ्गामा सीमानामा रहेका यूरोपेली मुलुक हुँदै यूरोप र अमेरिका जाने क्रम फेरि बढेको छ ।

यसरी जोखिमयुक्त मार्गको बाटो गएका आप्रबासीलाई सुरक्षाकर्मीको अनुपस्थिति भएमा यूरोप र अमेरिका बस्दै आएका मानव तस्करले विभिन्न मुलुक पुर्याएर अवैधरूपमा सस्तो काम लगाउने गरेको पाइन्छ । कानुनी ज्ञान र अन्य पहुँचको अभावमा उनीहरूले आफ्नो रोजीरोटीको सपना पुरा गर्न बर्षौँसम्म सङ्घर्ष गर्ने गरेका छन् ।

सन् २०१७ यता मध्य भूमध्यसागर पार गर्ने आप्रवासीका लागि सन् २०२३ को जनवरीदेखि मार्चसम्मको सबैभन्दा घातक पहिलो त्रैमासिक भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रमुख एन्टोनियो भिटोरिनोले भने, “मध्य भूमध्यसागरमा जारी मानवीय सङ्कट असहनीय छ । सन् २०१४ यता यो मार्गमा २० हजारभन्दा बढीको मृत्यु भएको छ, दुःखको कुरा यी मृत्युहरू सामान्य भइसकेका छन् ।”

प्रतिक्रिया दिनुहोस्