अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफ्ना पूर्ववकिल विरूद्ध मुद्दा दायर



एजेन्सी,चैत ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएकाे छ ।

पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गर्नुभएकाे हाे । पूर्वराष्ट्रपति ट्रम्पले बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गर्नु भएकाे मुद्दामा पूर्ववकिल कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र संचार माध्यममार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाउनुभएकाे छ ।

पूर्वराष्ट्रपति ट्रम्पले एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्राहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप लगाउनुभएकाे छ । वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धकाे बारेमा चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ वटा मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेका छन् ।

मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन् । कोहेनले दशक भन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए । पूर्ववकिल कोहेन ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो ।

तर सन् २०१६ को निर्वाचनपछि उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो । सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो । सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्