रुससँग किनेर यूरोपमा तेल बेच्दै भारत, साउदी अरब भन्दा ठूलो आपूर्तिकर्ता बन्दै



एजेन्सी,बैशाख १८ । भारत साउदी अरबलाई उछिनेर यूरोपको लागि प्रशोधित तेल (Refined Oil) को सबैभन्दा ठुलो आपूर्तिकर्ता बनेको छ । एनालिटिक्स कम्पनी केप्लरले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । 

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासमेत पश्चिमी देशहरूले रुसी तेलमा प्रतिबन्ध लगाएका थिए । यूरोपको प्रतिबन्धपछि रुसले भारत र चीनलाई भारी छूटमा कच्चा तेल   बेचिरहेको छ । भारतीय कम्पनीहरूले रुसबाट यसअघि कहिले नदेखिएको स्तरमा कच्चा तेल ल्याएर प्रशोधन गरी विदेश निर्यात गरिरहेका छन् ।

रुससँगको बाटो बन्द भएपछि यूरोपको भारतीय कच्चा तेल प्रडक्टमाथिको निर्भरता चुलिएको छ । भारतबाट यूरोपको प्रशोधित इन्धन आयात मार्चमा दैनिक बढेर ३ लाख ६० हजार ब्यारेलमाथि उक्लिएका Kpler को तथ्यांकले देखाएको छ । यो Saudi Arab को भन्दा केही बढी हो । 

यसले तेल प्रतिबन्धको अर्को पाटोलाई उजागर गरेको छ ।  एकातिर यूरोपका देशहरूले युक्रेनमा आक्रमण गर्न सक्ने रुसको क्षमता ध्वस्त पार्ने भन्दै रुसको कच्चा तेलमा प्रतिबन्ध लगाएका छन् । अनि रुसले अरुलाई बेच्ने कच्चा तेलको भाउमा पनि मूल्य सीमा तोकेका छन् ।

अर्कोतिर माग पूरा गर्न उही रुसबाट कच्चा तेल ल्याएर प्रशोधन गर्ने भारतसँग कीर्तिमानी स्तरमा प्रशोधित इन्धन किनिरहेका छन् । यूरोपले रुसी कच्चा तेलको माग झनै बढाइदिएको छ भने रुसबाट ल्याउँदा सस्तो पर्ने इन्धन भारतसँग किनेर ढुवानीमा बढी खर्च गरिरहेको छ ।

रुससँग सस्तोमा कच्चा तेल किन्न नसक्ने यूरोपका प्रशोधनकर्ता कम्पनीहरूका लागि प्रतिस्पर्धा झनै बढेको छ । अप्रिलमा भारतमा आइपुग्ने रुसी कच्चा तेल दैनिक २० लाख ब्यारेल नाघ्ने अनुमान गरिएको छ । यो भनेको भारतको कूल कच्चा तेल आयातको झन्डै ४४ प्रतिशत हाराहारी हुने केप्लरको तथ्यांकलाई उद्धृत गर्दै एएनआईले समाचार छापेको थियो ।

गएको आवमा रुसको इतिहासमै भारत शीर्ष तेल आपूर्तिकर्ता बन्यो । युक्रेनी युद्ध शुरु भएयता रुसले भारी छूटमा कच्चा तेल बेचिरहेको छ । पश्चिमी देशहरूले रुससँग भारतको कच्चा तेल खरीदबारे चासो बढाए पनि भारतको तेल खरीद बढिरहेको छ ।

पश्चिमी देशहरूले रुसी कच्चा तेलमा प्रतिब्यारेल ६० डलरको मूल्य सीमा (Price Cap) लगाएका छन् । फेब्रुअरीमा भारतले रुससँग ३ अर्ब ३५ करोड डलर बराबरको कच्चा तेल किनेको थियो । साउदी अरब र इराकसँग भने क्रमशः २ अर्ब ३० करोड डलर र २ अर्ब ३ करोड डलरको कच्चा तेल किन्यो । 

प्रतिक्रिया दिनुहोस्