फ्रान्समा विशाल प्रर्दशन



एजेन्सी,बैशाख १९ । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गएराति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते भएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले प्रदर्शनमा ठूलो संख्यामा प्रहरी घाइते भएका र दुई सय ९१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएका छन् । फ्रान्समा राष्ट्रपति इम्यानुएल म्याक्रोँको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको लामो समयदेखि विरोध भइरहेको छ ।

मे दिवसको दिन सोमबार पनि ठूलो संख्यामा मानिसहरु फ्रान्सको सडकमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरेसँगै झडप भएको थियो ।

झडपमा प्रदर्शनकारी समेत घाइते भएपनि उनीहरूको एकिन तथ्याङ्क भने आउन नसकेको बताइएको छ । फ्रान्समा नयाँ नियमअनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्