दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकिता



काठमाडौं, जेठ ३। निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाए। उनले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गरे। “निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई डर लाग्न थालेको छ,” उनले भने, “मुलुकको गेम चेन्जर प्रोग्रामका रूपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन आग्रह गर्छु।”

तर, यता मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ। २०७९ जेठ २ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। विमानस्थल २०७१ पुस ६ गते निर्माण सुरु भएर २०७४ पुसमा सक्ने गरी निर्माण योजना तय गरिएको थियो।

निर्धारित समयभन्दा चार वर्षपछि सञ्चालनमा आएको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न यो विमानस्थलमा ३० अर्ब रुपियाँभन्दा बढी रकम खर्च भएको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाको एक हिस्साका रूपमा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको थियो।

बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको विमानस्थल हाल अन्तर्राष्ट्रिय उडानविहीन छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने हवाई यात्रुलाई लक्षित गरेर सञ्चालनमा रहेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन्। विमानस्थलको सञ्चालन खर्च उठाउन मात्रै दैनिक दुई अन्तर्राष्ट्रिय उडान आवश्यक पर्ने यो विमानस्थल सञ्चालनमा आएको एक वर्षमा ३५९ उडान तथा अवतरण भएका छन्।

विमानस्थलका प्रवक्ता दीपक वज्राचार्यका अनुसार पछिल्लो एक वर्षमा यहाँ १८० अवतरण र १७९ अन्तर्राष्ट्रिय उडान भएका छन्। उनले उक्त उडानबाट एक वर्षमा १४ हजार ७३९ हवाई यात्रुले ओहोरदोहोर गरेको बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यहाँ अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न अवतरण, बिसान, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा थप एक वर्ष शतप्रतिशत छुट प्रदान गरिए पनि उडान गर्न अनुमतिको प्रव्रिmयामा कोही आएका छैनन्। यहाँ काठमाडौँबाट डाइभर्ट भएका कुनै जहाजसमेत अवतरण गरेका छैनन्।

भैरहवामा मात्रै होइन, गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था झन् तल देखिन्छ। भैरहवा विमानस्थल सञ्चालन भएदेखि एक अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गरे पनि पोखरामा भने अझै एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पोखरा विमानस्थल प्रयोगमा विविध सेवा शुल्क निःशुल्क रहे पनि उडान अनुमतिको प्रव्रिmयामा एउटा पनि हवाई कम्पनीले चासो देखाएका छैनन्।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्