युक्रेनसँग अन्न सम्झौताको म्याद थप्न रुस तयार भएपछि विश्व बजारमा घट्यो गहुँको भाउ



काठमाडौं,जेठ ५ । बिहीवार विश्व बजारमा गहुँको भाउ घटेको छ । रुस र युक्रेनले अन्न निर्यात सम्झौता (Grain Deal) को म्याद थप्ने सहमति गरेसँगै गहुँको भाउ घटेको हो । सिकागो बोर्ड अफ ट्रेडमा गहुँको भाउ प्रतिबशेल २ प्रतिशतले घटेर ६ डलर १२ सेन्टमा आएको थियो । बशेल भनेको ३६ दशमलव ४ लिटर अट्ने भाडो हो । 

यो वर्ष शुरु भएयता गहुुँको भाउ २३ प्रतिशतले घटेको छ । गएको वर्षको कीर्तिमानी स्तरबाट पनि भाउ अहिले ५७ प्रतिशत तल छ । गएको वर्षको मार्चमा प्रतिबशेल गहुँको भाउ १४ डलर ३ सेन्टसम्म पुगेको थियो । अन्न निर्यात सम्झौता विश्वको खाद्य सुरक्षाका लागि अति नै महत्त्वपूर्ण छ । युक्रेन र रुस विश्वको सबैभन्दा ठूला अन्न उत्पादक देश हुन् । 

रुसले बिहीवार म्याद सकिने क्रममा रहेको युक्रेनसँगको अन्न सम्झौताको म्याद थप्न मन्जुरी दिएको थियोे । कृष्ण सागर हुँदै युक्रेनी बन्दरगाहहरूबाट अन्न विश्वका विविध ठाउँमा पैठारी गर्न युक्रेनलाई अनुमति दिने सो सम्झौताको म्याद २ महीना थप्न रुस राजी भएको टर्किश राष्ट्रपति रेसेप तैय्यप एदोगानले भनेका हुन् । 

युक्रेनमा रुसले गएको वर्षको शुरुमा हमला गरेयता अकासिएको खाद्य मूल्यवृद्धिलाई कम गरेर यसले विश्वभर खाद्यान्न सुरक्षालाई यथावत् राख्न मद्दत मिल्नेछ । गएको वर्षको गर्मीयाममा टर्की र संयुक्त राष्ट्र संघको पहलमा सो सम्झौता भएको थियो । त्यति बेला रुसले आफ्नो देशमा उत्पादित खाद्यान्न र मलखाद पनि निर्यात गर्ने छुट्टै सहमति भएको थियो । 

तर, सो सम्झौता लागू नभएको रुसको भनाई छ । बिहीवारसम्ममा सो सम्झौताबारे आफ्नो चिन्तालाई सम्बोधन नगरे सम्झौताबाट पछाडि हट्ने चेतावनी दिएको थियो । रुसले यसअघि पनि पटक पटक यस्तै खालको धम्की दिएको थियो । तर, मार्चमा पनि यसको म्याद २ महीना थपियो । शुरुको सहमति अनुसार सम्झौताको म्याद १२० दिन थपिने कुरा थियो ।

तर, रुसले मार्चमा एकतर्फी रूपमा म्याद ६० दिन मात्रै थपिदियो ।समस्याहरू प्राविधिक स्तरमै समाधान गर्नुपर्ने बुधवार रुसी विदेश मन्त्रालयकी प्रवक्ताले बताएकी थिइन् । सम्झौताको पछिल्लो म्याद थपमा रुसले के कस्ता छूट पाएको छ भन्नेबारे प्रवक्ता र एर्दोगान दुवैले केही पनि भनेका छैनन् ।

अर्को पटक पनि सम्झौताको म्याद थप्न सकियोस् भनेर सबै शर्तहरू पूरा भएको सुनिश्चित गर्ने प्रयास गरिने एर्दोगानले बताए । यो सम्झौताको म्याद लम्बिनु भनेको युक्रेनी गहुँ, जौं, वनस्पति तेल र अन्य सस्ता खाद्य वस्तुमा निर्भर अफ्रिका, मध्य पूर्व र एशियाका केही देशहरूले ठूलै राहत हो । एजेन्सीहरू

प्रतिक्रिया दिनुहोस्