जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन



एजेन्सी,जेठ ७ । चीन विश्वमा सबभन्दा धेरै कार निर्यात गर्ने देश बनेको छ । यो वर्षको पहिलो तीन महीनामा चीनले कुल १० लाख ७० हजार थान सवारी साधन निर्यात गरेको छ ।

यो एक वर्ष अघिको सोही अवधिको तुलनामा ५८ प्रतिशत वृद्धि भएको गएको हप्ता त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । सोही समयमा जापानले भने ९ लाख ५४ हजार १८५ थान मात्रै सवारी साधन विदेश पठाएको छ ।

यो सन् २०२२ को पहिलो त्रैमासको भन्दा ६ प्रतिशत धेरै भए पनि चीनको भन्दा चाहिँ थोरै हो । विद्युतीय सवारी साधनको मागमा भएको वृद्धि अनि रूसमा निर्यात बढ्दा चीनको समग्र निर्यात बढेको हो । गएको वर्ष चीन जर्मनीलाई उछिनेर विश्वको तेस्रो सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको थियो । 

चीनको भन्सार विभागका अनुसार सन् २०२२ मा चीनले जम्मा जम्मी ३२ लाख थान सवारी साधन निर्यात गरेको थियो । सो अवधिमा जर्मनीबाट भने २६ लाख थान सवारी साधन सीमापार बजारमा पठाइएको थियो । चीनको अटो उद्योगले परम्परागत इन्धनबाट चल्ने सवारी साधनबाट स्वच्छ ऊर्जाबाट चल्ने सवारी साधन निर्माणमा फोकस गर्न थालेपछि त्यहाँको अटो उद्योगको थप माग बढेको छ । 

यस  वर्षको जनवरी-मार्च त्रैमासमा चीनको स्वच्छ ऊर्जाबाट चल्ने सवारी साधनको निर्यात एक वर्षअघिको तुलनामा ९० प्रतिशतले बढेको छ । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लामा चिनियाँ एकाई, एमजी ब्रान्डको मालिक एसएआईसी र बीवाईडी चीनको शीर्ष ईभी निर्यातकर्ता हुन् ।

गएको वर्षको शुरुमा रूसले युक्रेनमा आक्रमण गरेयता चीनको रूसतर्फको निर्यात बढेको छ । गएको वर्ष रूसको अटो बजारमा गिली, चेरी र ग्रेट वाललगायत चिनियाँ कार निर्माताहरूको हिस्सा फक्सवागन र टोयोटालगायत प्रतिस्पर्धीहरूको तुलनामा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्