नुवाकोट पञ्चकन्यामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन



नुवाकोट,जेठ १० । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन सुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको हो ।

विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनौँ भन्ने दृष्टान्त प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ्ले नाटक हेरेपछि प्रतिकृया दिँदै भने – ‘हामी शिक्षाको गुणस्तर बढाउन प्रतिवद्ध छौँ साथसाथै बिभिन्न जनतेचनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौँ । विद्यार्थीले राम्रो पढ्न पर्यो । शिक्षकले राम्रो पढाउन पर्यो । अभिभावकले पनि आफ्ना छोराछोरीको पढाई, आचरण लगायतका विषयमा बुझ्न नियमित विद्यालयमा जानु पर्यो । विद्यालयको भौतिक संरचनामा पनि हामीले ध्यान दिन जरुरी छ ।’

नाटकको प्रभाव राम्रो भएको भन्दै उनले कलाकारहरुको प्रसंशा गर्दै आगामि दिनहरुमा पनि आदिइत्यादिसँग सहकार्य गरेर अन्य कार्यक्रम बनाउने प्रतिवद्धता जनाए । नाटकका बारेमा आफ्ना धारण राख्दै उपाध्यक्ष विमला केसीले हामीले शिक्षाका क्षेत्रमा रहेका धेरै विकृतिहरु पन्छाउदै अगाडि बढ्नुपर्ने बताइन् । हामी हाम्रा छोराछोरीलाई निजी स्कुलमा भर्ना गर्दैमा पढाइ राम्रो हुन्छ भन्ने मान्यता राख्छौँ त्यो गलत हो । मेहनत गर्ने हो भने सामुदायिक विद्यालयहरुले पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने सन्देश पनि नाटकले दिएको उनले बताइन ।

पञ्चकन्या गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृत राममणि काफ्लेले संक्षिप्त प्रतिकृया दिँदै भने- समग्रमा नाटक प्रदर्शनको प्रतिकृया राम्रो लागेको बताए । नाटकमा विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीको कर्तव्य यथार्थ चित्रण गरिएको बताए । नाटक हेर्न अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो भने विभिन्न वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

नाटक गाउँपालिकाकै नवसञ्जिवनी मावि आँप्रहमा समेत प्रदर्शन गरिएको थियोे । नाटक हरेर आफ्नो प्रतिकृया दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद मिश्रले नाटकले हाम्रो समाजको अहिलेको वास्तविकता झल्काएको बताए ।

हामीले सुधार गर्न पर्ने कुराहरु धेरै छन् । कमजोरीहरुलाई सधारेर अगाडि बढ्ने हो भने हामीले उपलब्धी हासिल गर्न पनि सक्छौँ । गाउँपालिकाले गरेको यो सुरुवातमा हामी सबैले सहयोग गर्न आवश्यक रहेको पनि उनले बताए । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शनको समन्वय पञ्चकन्या गाउँपालिकाका शिक्षा शाखाका साहायक निरन्जन तिवारीले गरेका थिए । नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्