अरुण तेस्रो प्रवेश मार्ग : छुट जग्गाको मुआब्जा प्रतिरोपनी करीब १२ लाख रुपैयाँ निर्धारण



सङ्खुवासभा,जेठ १२ । सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ । 

अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ किमी) सडक खण्ड अन्तर्गत विगतमा छुटेका जग्गाको मुआब्जा निर्धारण भएको हो ।

सरकारले जग्गा अधिग्रहण गरेको करीव १४ वर्षपछि स्थानीयवासीले जग्गाको मुआब्जा पाएका हुन् । स्थानीयवासीले लामो समयदेखि मुआब्जाको माग राख्दै आन्दोलन गरेपछि सरकारले मुआब्जा दिन छुट जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो । 

विसं २०७५ चैत १ मा सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा आयोजना प्रवेशमार्ग छ्याङकुटी–दिदिङअन्तर्गत छुट जग्गाको यकिन विवरण र अन्य समस्यासम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल निर्माण गरिएको थियो ।

छ्याङकुटी–दिदीङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ  रहने गरी दररेट निर्धारण गरिएको छ । केही दिनअघि जिल्ला मुआब्जा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले मुआब्जा दर निर्धारण गरेको हो । जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवालाबीच पटक पटकको छलफलपछि दर निर्धारण गरिएको हो । 

चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करीव २०० घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको छ ।

विसं २०४६ मा मुआब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि २०६६/६७ सालमा लगत कट्टा हुँदाको छुट जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो । सो सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको छ । छ्याङकुटीदेखि विद्युत् गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले पटक–पटक माग गर्दै आएका थिए । 

मुआब्जा दर निर्धारण भएसँगै स्थानीयवासी खुसी भएका छन् भने अवरोध भइरहेको अरुण तेस्रोको काम सहजरूपमा हुने अपेक्षा लिइएको छ ।  सङखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणाधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत् गृह निर्माण भइरहेको छ ।

९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलजले गरिरहेको छ । आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब हुने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्