दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो, मृत्यु हुनेको सङ्ख्या सातले कम
काठमाडौं,कात्तिक ६ — दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ। गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष १०५ वटा दुर्घटना भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या ५० वटाले र मृत्यु हुनेको सङ्ख्या सात जनाले घटेको हो।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित छन्। तीव्र गतिमा सवारी चलाउँदा नियन्त्रण गुम्ने र दुर्घटना हुने गरेको उनले बताए।
ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरी पूर्वतयारीसहित विशेष सुरक्षा योजना लागू गरेको थियो। सडकमा नियमित जाँच, निगरानी, प्रहरी परिचालन तथा संयुक्त जाँचलाई प्रभावकारी बनाइएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरीको भनाइ छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले दुर्घटनापछि तत्काल उद्धार र प्रभावकारी उपचारको व्यवस्था गरिएकाले घाइतेको ज्यान बचाउन सहयोग पुगेको बताए। यातायात व्यवसायी, मजदुर र अन्य सरोकारवालाको समन्वयले पनि यात्रालाई सुरक्षित बनाउन मद्दत पुगेको उनले उल्लेख गरे।
दसैँमा सवारीसाधनको आवागमन बढ्ने भएकाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विशेष निगरानी गरेको थियो। दुर्घटना र मानवीय क्षतिमा कमी आए पनि तीव्र गति तथा दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटना चुनौतीका रूपमा रहेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा सवारीसाधन चलाउन आग्रह गरेको छ।

