मन्दीमा गयो विश्वको चौथो र यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र



एजेन्सी,जेठ २२ । अमेरिका, चीन र जापानपछि विश्वको चौथो ठूलो र यूरोपको सबैभन्दा ठूलो जर्मन अर्थतन्त्र आर्थिक मन्दीमा धकेलिएको छ ।

त्यहाँको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको छ । 

योसँगै लगातार दोस्रो त्रैमासमा पनि अर्थतन्त्रमा संकुचन देखिएको छ । युक्रेनमा रुसले आक्रमण गरेयता उत्पन्न इन्धन संकटका कारण अर्थतन्त्र मन्दीमा गएको हो ।  महँगी र क्यालेन्डर इफेक्टसँगको समायोजनपछि अर्थतन्त्र लगातार दोस्रो त्रैमास पनि रातोमा छ ।

सन् २०२२ को अन्तिम त्रैमासमा पनि अर्थतन्त्र शून्य दशमलव ५ प्रतिशतले खुम्चिएको थियो । आर्थिक गतिविधिहरू लगातार ६ महीनासम्म नकारात्मक रह्यो भने त्यसलाई आर्थिक मन्दी भनेर परिभाषित गरिन्छ ।  जर्मनी अहिले चरम ऊर्जा संकटसँग जुधिरहेको छ ।

यसअघिको प्रक्षेपणमा संघीय तथ्यांक कार्यालयले पहिलो त्रैमासमा अर्थतन्त्र स्थिर रहने बताएको थियो । रुसबाट आउने इन्धनको आपूर्ति घटेपछि इन्धनको भाउ आकाशिएको छ भने महँगी चुलिएको छ । अघिल्लो त्रैमासको तुलनामा गएको त्रैमासमा घरपरिवारको खपत १ दशमलव २ प्रतिशतले घटेको छ ।

आर्थिक मन्दीको आकार युक्रेनी युद्ध शुरू भएको बेलामा गरिएको प्रक्षेपणभन्दा चाहिँ कम हो । मध्य खालको हिउँदे मौसम र कोभिड लगत्तै देखिएको आपूर्ति शृङ्खलामा अवरोध हट्दा युक्रेनी युद्धको असर कम भएको हो । निजी खपत घटे पनि लगानीमा भने सुधार आएको छ । यसअघि सन् २०२० मा कोरोना भाइरसको महामारीको प्रकोप भर्खरै शुरू हुँदा जर्मन अर्थतन्त्र मन्दीमा गएको थियो ।

जर्मनीको अर्थतन्त्रको आकार ४५ खर्ब यूरो बराबर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्