फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, २ हजार ४ सय पक्राउ
पेरिस,कात्तिक २ । फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गर्नुभएको छ। उहाँले आवश्यक परे प्रदर्शन र र्यालीमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ। तर, उहाँले आपत्कालीन अवस्था वा कर्फ्यु घोषणा गर्नुभएको छैन।
गृह मन्त्रालयका अनुसार शनिबार भएको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सैनिक प्रहरी घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ। प्रदर्शनका क्रममा नगरपालिकाका भवनमा आगजनी हुनुका साथै सयौँ व्यवसायमा लुटपाट र तोडफोड भएको छ।
राष्ट्रपति म्याक्रोनले वैध माग राखेर प्रदर्शन गर्ने नागरिक र हिंसा तथा लुटपाटमा संलग्न व्यक्तिबीच भिन्नता गर्नुपर्ने बताउनुभएको छ। उहाँले सहरहरूमा हिंसा फैलाउने अपराधी तथा अतिवामपन्थी समूहविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आइतबार राजधानी पेरिसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र स्तब्ध पार्ने ग्रेनेड प्रहार गरेको थियो। अधिकारीहरूका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार गरेका थिए। राजधानीमा १०८ जना पक्राउ परेका छन् भने रिपब्लिक स्क्वायर आसपास कम्तीमा पाँच पसलमा लुटपाट भएको छ। लियोनमा पनि पसल लुट्ने प्रयासका क्रममा झडप भएको छ।
आगामी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भएको हिंसाले फ्रान्सको राजनीतिक बहससमेत चर्काएको छ। दक्षिणपन्थी नेसनल र्याली पार्टीकी नेतृ मरिन ले पेनले घटनाले म्याक्रोनको प्रशासन कमजोर र दिशाहीन भएको देखाएको टिप्पणी गर्नुभएको छ। कट्टर वामपन्थी नेता जिन–लुक मेलेनचोनले पनि अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिनुभएको छ। म्याक्रोनले भने हिंसाको सट्टा बहसमा आधारित निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ।
प्रदर्शनमा मजदुर सङ्गठन, ‘यल्लो भेस्ट’ आन्दोलनका सहभागी र विद्यार्थी सहभागी भएका थिए। उनीहरूले जीवनयापनको बढ्दो लागत र युवाहरूको भविष्यप्रतिको चिन्ता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने प्रदर्शनका क्रममा भएको हिंसाका लागि आप्रवासनलाई दोष दिनुभएको छ।
म्याक्रोनले हिंसाबाट प्रभावित व्यवसायलाई सहयोग गर्ने र सुरक्षा निकायको कारबाहीबारे पारदर्शिता अपनाउने बताउनुभएको छ। उहाँले गृहमन्त्री लरेन्ट नुनेजलाई सुरक्षा सूचना सङ्कलन र घटनाको पूर्वानुमानमा देखिएका कमजोरीबाट आवश्यक पाठ सिक्न निर्देशन दिनुभएको छ।
लिमोजिसमा १९औँ शताब्दीमा निर्मित नगरपालिकाको भवन आगलागीमा नष्ट भएको छ भने लियोनको पर्यटक सूचना कार्यालयमा पनि आगजनी गरिएको छ। सेन्ट–एटिनेमा भिड नियन्त्रणका क्रममा प्रयोग गरिएको ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ। मुलहाउसमा १७ वर्षीया किशोरीले आँखाको दृष्टि गुमाएको अभियोजनकर्ताहरूले बताएका छन्।
रासस/एएफपी

