दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
काठमाडौं,कात्तिक २ । दसैँको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा दुई वटा बस निःशुल्क सञ्चालन गरेको छ ।
दसैँका समयमा सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुँदा यात्रुलाई आवतजावतमा समस्या हुने भएकाले त्यसलाई सहज बनाउन निःशुल्क बस सेवा सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलले सञ्चालन गरेको उक्त बस सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने दुई बसमध्ये एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ ।
त्यसैगरी, अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
दसैँका बेला सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गरी सहज यात्रा सुविधा उपलब्ध गराउन सशस्त्र प्रहरीले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

