बढ्दै छ कम्पनीहरू टाट पल्टिने क्रम, तत्कालै रोकिनेवाला छैन पीडा



काठमाडौं,जेठ १२ । हालैका हप्तामा अमेरिकामा भाइस मिडियादेखि बेड, बाथ एन्ड ब्योन्डसमेत अनेकौं कम्पनीहरू टाट पल्टिए । पछिल्लो समय यो क्रम झनै बढेको छ । गएको हप्ता कर्पोरेट अमेरिकाका लागि सन् २००८ यताकै सबैभन्दा खराब रह्यो । यो तुलना पक्कै पनि सुखद होइन । 

यो वर्षको अहिलेसम्मको अवधिमा अमेरिकामा २३० कम्पनीहरूले अदालती संरक्षणका लागि निवेदन दिइसकेको एसएन्डपी ग्लोबलको पछिल्लो तथ्यांकले देखाएको छ । समस्याग्रस्त अधिकांश कम्पनीको एउटा विशेषता छ । 

कम्पनीहरूको अवस्था खस्किएर चल्न नसक्ने बनेका छन् भने थेग्नै नसक्ने कर्जाको भारले थिचिएका छन् । महँगीका कारण उपभोक्ताहरूको किनमेलको व्यवहार फेरिएकोले अहिलेको अवस्थामा खुद्रा कम्पनीहरू बढी चपेटामा परेका छन् । 

बासलात कमजोर रहेका कम्पनीहरूका लागि आगामी वर्षसम्मै पीडैपीडा छ । केही ब्रान्डहरू व्यवसाय सञ्चालन गरिरहन नसक्ने वा व्यवसायको मोडल नै फेर्नुपर्ने अवस्थामा पुगेका छन् । 

फेडको ब्याजदर वृद्धिको असर

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रूपमा ब्याजदर बढाउँदा पनि कम्पनीहरू टाट पल्टिने क्रम बढेको हो । ब्याजदर बढ्दै गएसँगै कर्जाको अभाव उत्पन्न भयो । वित्तीय संघसंस्थाहरूले कर्जासम्बन्धी प्रावधानहरू कसिलो पारे । 

कर्जाको उपलब्धता घट्यो । अनि वित्तीय अवस्था स्थीर नभएका कम्पनीहरू चपेटामा परे । कर्जा नै पाए पनि कम्पनीहरूले बढी ऋण तिर्नुपर्ने भयो । लगातार १० औं पटकको ब्याजदर वृद्धिको चक्र हालको लागि रोकिने फेड अध्यक्ष जेरोम पावेलले संकेत गरेका छन् । 

कर्जामा चुर्लुम्म डुबेका कम्पनीहरूलाई पनि अहिले सकस नै छ । अहिलेको अवस्थामा यो वर्षको बाँकी अवधिमा पनि थप कम्पनीहरू टाट पल्टिने विश्लेषकहरू बताउँछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्