निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा



काठमाडौं, जेठ १२ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताएका छन्।

आयोग गठन भएदेखि विरोधमा उत्रिएका निजी मेडिकल कलेजले शुल्क घटाएकोमा आपत्ति जनाएको प्रसंग उल्लेख गर्दै भने– ‘उहाँहरू शुरूदेखि नै आयोगको विपक्षमा पटकपटक आन्दोलन उत्रिनुभयो । कलेज सञ्चालन गर्न सक्दैनौं भनेर हामीलाई चाबी नै बुझाउनुभयो । आयोग स्थापना हुनुअघि एमबीबीएसको लागि १ करोड रुर्पैयाँसम्म असुल्ने गरिएको थियो, हाल ४०–४५ लाखमै पढ्न पाइन्छ । आयोगको यो नै ठूलो सफलता हो ।’

चारवर्षे कार्यकाल सकिन करिब दुई महिना बाँकी रहँदा बिहीबार आयोगले पत्रकार सम्मेलन गरी आयोगले अहिलेसम्म गरेको कामको बारेमा जानकारी दिएको हो । कार्यक्रममा उपाध्यक्ष प्राडा गिरीले आयोगकै कारण चिकित्सा शिक्षा क्षेत्रमा सुधार आएको दाबी गरे।

पत्रकार सम्मेलनमा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार लामो समयदेखिको निरन्तर छलफल र विज्ञहरूको संलग्नताको आधारमा राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भएको जानकारी दिइयो । साथै आयोगले हालसम्म १३ विषयको पाठ्यक्रम तयार पारेको पनि जनाएको छ ।

आयोगका अनुसार चालु शैक्षिक वर्षमा चिकित्सा शिक्षा अध्ययनका लागि ९ सय ७२ जना नेपाली विद्यार्थी विदेशिएका छन् । बि.सं. २०७९ मा स्नातक तहका लागि ७ सय १, स्नातकोत्तर तहका लागि २ सय ६६ र फेलोसिपका लागि ५ जनाले विदेश जाने अनुमतिपत्र लिएका छन् ।

नेपाल मेडिकल काउन्सिलबाट स्नातक तहमा ६ सय ९६, स्नातकोत्तरमा लागि ४ सय २८ जना र फलोसिपको लागि २७ जनाले अनुमति लिएका छन् । त्यसैगरी नेपाल नर्सिङ काउन्सिलअन्तर्गत स्नातकमा लागि २ सय ८८ र पोस्ट ग्राजुएटमा लागि ६३ जनाले अनुमति लिएका छन् ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्