भ्रष्टाचारविरुद्ध लागियो, विरोधीले कतिबेला एम्बुसमा पार्ने हुन् थाहा छैन : प्रचण्ड



काठमाडौं,जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठुला-ठुला एक्सन हुन लागेको दाबी गरेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा आफूहरूलाई साथ दिने बताए । 

प्रधानमन्त्री प्रचण्डले आफूहरूलाई जनयुद्धमा जस्तै भ्रष्टाचार विरोधी आन्दोलनमा पनि जनताले साथ दिने बताए । उनले भने, ‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र बेथितिविरुद्ध हामफालिसकेका छौँ । हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी विचार र वर्गका निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यही संकल्पका साथ लागेको छौँ ।’

उनले केही समयमै भ्रष्टाचारविरुद्ध ठुला कारबाही हुने पनि बताए । तर कुन भ्रष्टाचार कस्तो कारबाही हो भन्ने भने उनले खुलाएनन । ‘केही समयभित्रै ठुला-ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौँ,’ उनले भने । प्रधानमन्त्री दाहालले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्