योग्यता पुगेका शिक्षक माथिल्लो तहमा, अरु विषय पढे पनि लाईसेन्स परीक्षा दिन पाउने



काठमाडौं,जेठ १५ । आधारभूत तहका, शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन र स्तरोन्नती गरिने भएको छ । सोमबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । 

अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय पढेको व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाईने समेत बजेट वक्तव्यमा उल्लेख छ । सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहको कार्यसम्पादन करार गरी कार्यसम्पादन स्तरलाई वृत्तिविकास सँग आवद्ध गरिने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने पनि बजेटमा उल्लेख छ । 

बाल शिक्षालाई व्यवस्थित र पहुँच योग्य बनाउन प्रारम्भिक बाल विकास केन्द्रको नक्सांकन गरि पुर्नवितरण गरिने, बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरी कृषिजन्य प्रयोगात्मक सिकाइ केन्द्रित गर्ने, दुर्गम तथा हिमाली क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्तिको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

मातृभाषामा शिक्षा दिने कार्यक्रमको निरन्तरता, विद्यालय, प्राविधक तथा उच्च शिक्षाका विभिन्न छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदैं यसका लागि तीन अर्व दुई करोड विनियोजन गरिएको छ । यसबाट २६ लाख विद्यार्थी लाभान्वित हुने छन् । मुसहर, डोम, चमारलाई चिकित्सा तर्फ प्रदान गरिएको छात्रवृत्तिलाई निरन्तरता दिईएको छ । 

सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजालाई निरन्तरता दिन ८ अर्व ४५ करोड विनियोजन गर्दै स्थानीय तथा रैथाने कृषि उपजको आहार वितरण गर्ने व्यवस्था मिलाईने बजेटमा उल्लेख छ । यसबाट ३२ लाख विद्यार्थी लाभाििन्वत हुने छन् । विद्यालय तहका छात्राहरुलाई दिदैं आएको स्यानिटरी प्याडको व्यवस्थाका लागि लागि १ अर्व ४२ करोड विनियोजन गरिएको छ । यसबाट १० लाख लाभान्वित हुने छन् । औपचारिक शिक्षा प्रणालीमा आवद्ध नभएका मदरसा, गुरुकुल गुम्वा शिक्षालाइ औपचारिक शिक्षा प्रणालीमा जोडिने छ । सांकेतिक भाषा र व्रेल लिपीका पाठ्यपुस्तक वितरणको कार्यक्रम निरन्तर हुने छ ।  

प्रतिक्रिया दिनुहोस्