नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेल सञ्चालन हुन सकेन



विराटनगर,बैशाख १५ । नेपालको एकीकृत जाँच चौकीमा रहेको भन्सार यार्डभन्दा भारतीय भन्सार यार्ड प्रयोग गरेर मालवस्तु आयात गर्दा सस्तो पर्ने भएपछि नेपाल र भारतका प्रधानमन्त्रीले ११ महीनाअघि उद्घाटन गरेको कार्गाे रेलसेवा सञ्चालन हुन सकेको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला उहाँ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जेठ १८ गते उद्घाटन गरेपछि नेपालतर्फको एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेलसेवा विस्तार भएको थियो । उक्त आईसीपी भारतले निर्माण गरेर नेपालाई हस्तान्तरण गरेको हो । 

पहिलो दिन भारतीय रेल आरती स्ट्रिप प्रालिको जस्तापाताको कच्चा पदार्थ लिएर नेपालतर्फको आईसीपीमा आइपुगेको थियो । त्यसपछि भारतीय कार्गो रेल सामान लिएर नेपालतर्फको आईसीपीमा आएको छैन । 

उद्योगी व्यवसायी नेपालको भन्सार यार्डसम्म चारओटा वस्तु मात्र ढुवानी गर्ने अनुमति भारतीय रेलवेले दिएको र तीलगायत अन्य वस्तु नेपाल कस्टम यार्डभन्दा भारतीय कस्टम यार्डमा अनलोड गरेर ल्याउँदा सस्तो पर्ने भएकाले भारतीय कस्टम यार्ड नै प्रयोग गरिरहेको बताउँछन् । व्यवसायीका अनुसार भारतीय रेलवेले कार्गो रेलमा कोलकाता बन्दरगाहबाट सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन अनुमति दिएको छ ।

कार्गो रेलबाट आउने मालवस्तु भारतीय कस्टम यार्डबाट ल्याउँदा नेपाल कस्टम यार्डको तुलनामा प्रतिटन ६४ देखि २०० रुपैयाँसम्म सस्तो पर्ने व्यवसायीको भनाइ छ । उद्योग संगठन मोरङले गरेको अध्ययनले पनि यताको भन्दा सीमापारिको भारतीय आईसीपीमा अनलोड गरेर मालवस्तु ल्याउँदा सस्तो पर्ने देखाएको छ । 

संगठनका महानिर्देशक चूडामणि भट्टराईले रेलवे यार्डमा कार्गो ह्यान्डलिङ चार्ज तथा ढुवानी दरमा भएको फरकले नेपालतर्फको यार्ड प्रयोगमा आउन नसकेको देखिएको बताए । 

रेलमार्गबाट जोगबनीको आईसीपीसम्म स्पन्ज आइरन ल्याउँदा कार्गोको लोडिङ–अनलोडिङ चार्ज र २५ किलोमिटरसम्मको ढुवानीदर प्रतिटन ६६४ रुपैयाँ छ । त्यस्तै भारततर्फ पार्किङ शुल्क ३२ रुपैयाँ तोकिएको छ । यसरी एक टन स्पन्ज आइरन भारतीय आईसीपीमा उतारेर ट्रकमा लोड गरी कारखानासम्म पुर्‍याउँदा ६९६ रुपैयाँ खर्च लाग्छ ।

यही स्पन्ज आइरन विराटनगरको आईसीपीबाट ल्याउँदा प्रतिटन लोडिङ–अनलोडिङ चार्ज ४०० र २५ किलोमीटरसम्मको ढुवानीखर्च प्रतिटन ३६० रुपैयाँ गरी ७६० रुपैयाँ तिर्नुपर्छ । यसरी भारतीय पूर्वाधार प्रयोग गरी स्पन्ज आइरन ल्याउँदा प्रतिटन ६९६ र नेपालतर्फका पूर्वाधार प्रयोग गर्दा ७६० रुपैयाँको दररेट हुने हुँदा प्रतिटन ६४ रुपैयाँ फरक देखिन्छ ।

स्पन्ज आइरनका आयातकर्ता एवं उद्योग संगठनका कार्यकारी सदस्य सौरभ शारडाले भने, ‘एक र्‍याकमा कम्तीमा २५ सय टन स्पन्ज आइरन आउँछ । भारतीय आईसीपी हुँदै सामान ल्याउँदा एक टनको ६४ रुपैयाँ सस्तो पर्छ ।  यस हिसाबले २५ सय टनको १ लाख ६० हजार रुपैयाँ सस्तो पर्ने देखियो । यस्तो देखीदेखी नेपालतर्फको आईसीपीबाट कसले आयात गर्छ ?’

त्यस्तै जीआई वायरको मुख्य कच्चा पदार्थ एमएस वायर रड भारतीय पूर्वाधार प्रयोग गर्दा प्रतिटन लोडिङ–अनलोडिङ र २५ किलोमीटरसम्मको ढुवानी खर्च ४४० रुपैयाँ छ । भारततर्फ टनको ३२ रुपैयाँ पार्किङ शुल्क छ । यसरी लोडङ–अनलोडिङ, ढुवानी र पार्किङ खर्च गरेर प्रतिटन ४७२ रुपैयाँ खर्च हुन्छ ।

यही एमएस वायर रडका लागि नेपालतर्फको पूर्वाधार प्रयोग गर्दा प्रतिटन लोडिङ–अनलोडिङको ४ सय र ढुवानी खर्च २४० गरी ६४० रुपैयाँ तोकिएको छ । यसरी हेर्दा लागत प्रतिटन १६८ रुपैयाँ भारतीय पूर्वाधार प्रयोग गर्दा सस्तो हुने देखिएको सम्बद्ध उद्योगी बताउँछन् । हुलास वायरका युक्ती गोल्छाका अनुसार एक र्‍याकमा २६ सय टन एमएस वायर रड आउँछ । र, भारतीय आईसीपी प्रयोग गर्दा प्रतिटन १६८ रुपैयाँका हिसाबले एक र्‍याक एमएस वायर रडमा ४ लाख ३६ हजार ८ सय रुपैयाँ सस्तो पर्छ । त्यसैले नेपालको आईसीपी प्रयोग हुने गरी रेलवे सेवा सञ्चालन हुन नसकेको गोल्छाको भनाइ छ । 

फलामे सामग्रीको अर्को कच्चा पदार्थ एचआर सीट नेपालको पूर्वाधार प्रयोग गर्दा अझ महँगो पर्ने देखिएको व्यवसायीको भनाइ छ । एचआर सीटबाट सीआर सीट बनाइन्छ । सीआर सीट स्क्वायर पाइप, एंगल, च्यानल आदि उत्पादनको मुख्य कच्चा पदार्थ हो ।

भट्टराईका अनुसार ‘भारतीय आईसीपी प्रयोग गरेर ल्याउँदा एक टन एचआर सीटको लोडिङ–अनलोडिङसहित २५ किलोमीटरसम्मको ढुवानी ४१६ र पार्किङ चार्ज ३२ गरेर ४४८ रुपैयाँको खर्च आउँछ । यही औद्योगिक कच्चा पदार्थ नेपालको पूर्वाधार प्रयोग गर्दा लोडिङ–अनलोडिङको ४०० र २५ किलोमीटरसम्मको ढुवानीको २२० गरी प्रतिटन ६२० रुपैयाँ निर्धारण तोकिएको छ । यसरी नेपालको पूर्वाधार प्रयोग गरी एचआर सीट ल्याउँदा प्रतिटन १७२ रुपैयाँ महँगो पर्छ । एचआरका आयातकर्ता हुलास वायरका गोल्छा भन्छिन्, ‘एक र्‍याकमा २५ सयदेखि ३ हजार टनसम्म एचआर सीट आउँछ । भारतीय पूर्वाधार प्रयोग गर्दा न्यूनतम २५ सय टन ल्याउँदा नेपाली पूर्वाधार प्रयोग गरेको तुलनामा ४ लाख ३० हजार रुपैयाँ सस्तो पर्छ । यही कारण विराटनगरको आईसीपीसम्म आइपुगेको रेलमार्गबाट मालवस्तु आयात हुन नसकेको हो ।’

भट्टराईले नेपालतर्फको कार्गो ह्यान्डलिङको शुल्क नेपाल सरकारले निर्धारण गरेको र उक्त मूल्य प्रतिस्पर्धी नहुँदा नेपालको आईसीपीमा रेलसेवा सञ्चालनमा आउन नसकेको बताए । सरकारी अधिकारी पनि नेपालको भन्सार यार्डबाट सामान ढुवानी गर्दा भारततर्फको भन्दा महँगो परेको स्वीकार्छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका विराटनगर शाखाप्रमुख लक्ष्मी सुब्बाले नेपाल भन्सार यार्डबाट सामान ढुवानी गर्दा शुल्क ६० देखि ६५ रुपैयाँ मात्र महँगो पर्न गएको बताए । कार्गो ह्यान्डलिङ लागत दर सरकारले तोकेको कारण आफ्नो कार्यालयले घटाउन नमिल्ने बताउँदै वाणिज्य मन्त्रालयबाटै घटेर आएमात्र कार्यान्वयन गर्न सकिने उनले बताए । उनले उद्योगीहरूसँग एकपटक नेपालको भन्सार यार्डमा माल ल्याएर के–कति लागत फरक पर्ने रहेछ जाँच गर्ने सहमति भए पनि उनीहरूले सामान नेपालको भन्सार यार्डमा नल्याएको बताए ।

नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झाका अनुसार २ महीनाअघि विराटनगरका उद्योगी र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच नेपालको कार्गो ह्यान्डलिङ शुल्क भारततर्फको भन्दा बढी भएको भए समान बनाउने सहमति भएको थियो । ‘यतिका दिनसम्म यस विषयमा किन निर्णय हुन सकेन मलाई जानकारी भएन,’ झाले आर्थिक अभियानसँग भने । केन्द्र सरकारले आगामी आर्थिक वर्षका बजेटको तयारी गरिरहँदा उद्योग संगठन मोरङले लिखित सुझाव दिँदै नेपालको आईसीपीसम्म रेलवे सेवा सञ्चालन हुने वतावरण बनाउन माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्