भारतको ओडिशामा रेल दुर्घटना : २०० भन्दा धेरैको मृत्यु, ९०० जना घाइते



ओडिशा,जेठ २० । भारतको ओडिशामा रेल दुर्घटना हुँदा २०० भन्दा बढिको मृत्यु भएको छ भने ९ सय घाइते भएका छन् ।

शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसको रेल बालासोर स्टेशन नजिकै मालबाहक अर्को रेलसँग ठोक्किएको हो । प्रारम्भिक रिपोर्टहरूका अनुसार, एक्सप्रेस ट्रेनका कम्तिमा चार डिब्बाहरू स्टेशनमा उभिएको मालगाडीमा ठोक्किएपछि बहानागा स्टेशनमा पटरीबाट खसेका छन् ।

कोलकाता नजिकैको शालिमार स्टेशनबाट ट्रेन चेन्नई सेन्ट्रल स्टेसन जाँदै गर्दा बाहनागा बजार स्टेशन नजिकै शुक्रवार साँझ ७.२० बजे दुर्घटना भएको हो । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।

केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव ओडिशाको बालासोरमा दुर्घटनास्थलमा पुगेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् भने शोकसन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् ।

उनले भुवनेश्वर र कोलकाताबाट उद्धार टोली परिचालन गरिनुका साथै प्रदेश सरकारको टोली र वायुसेना पनि परिचालन गरिएको बताएका छन् । उनले उद्धार कार्यका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्