सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड



नुवाकोट,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा आयोजित पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोध गर्न थालेको बताएका हुन् ।

‘‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठुलो सङ्घर्ष गर्‍यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’’ प्रधानमन्त्री प्रचण्डले भने ‘‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्त्वहरू अत्तालिएका छन्। राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्त्वहरू विरोधका लागि विरोध गरिरहेका छन्, तपाईँ हामी सचेत हुनु जरुरी छ।’’

विकासमा राजनीतिक पूर्वाग्रह राख्नु नहुने उनको भनाइ छ । विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय सङ्कल्प आवश्यक रहेको उनले बताए। ‘‘विकासमा राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन, विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय सङ्कल्प चाहिन्छ’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘अर्थतन्त्रको चुनौतीबीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौँ। कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन र उत्पादकत्व प्रवर्द्धन गर्ने नीति लिएका छौँ। उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ। कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौँ। यतातर्फ सरकारको ध्यान गएको छ।’’

प्रतिक्रिया दिनुहोस्