नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माधव नेपालको आह्वान



काठमाडौं,जेठ २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । 

शनिबार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए । 

उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने आफू तयार रहेको बताएका हुन । अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोपसमेत लगाए । 

उनले भने, ‘‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ। हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ। प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? तर मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्यो भने मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए। के हुन्थ्यो, सल्लाहकार भएर बसे हुँदैन, केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ। ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु।’’

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको बताए। उनले राजावादीले टाउको उठाउने प्रयास गरे पनि सफल हुन नदिने बताए । 

प्रतिक्रिया दिनुहोस्