राजनीतिमा ७० वर्ष उमेरहद उपयोगी नभएर हटायौं : अध्यक्ष ओली
काठमाडौं,असार २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद उपयोगी नभएकाले पार्टीले सो उमेरहदको बन्देज हटाउने निर्णय गर्नुपरेको बताएका छन् । ७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएपछि सो उमेरहद हटाउने निर्णय भएको उनको भनाइ छ ।
अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको उमेरहद हटाउने निर्णय भएको प्रष्ट पारे । केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको उनको भनाइ छ । अध्यक्ष ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न आग्रह गरे ।
काम गर्न सक्छन् भने ७० वर्ष कटेकालाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको अध्यक्ष ओलीको भनाइ छ । उनले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको बताए ।
उनले भने, ‘अव थुप्रै साथीहरु यो ७० वर्ष छ भनेपछि हच्किएका थिए । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि राजनीति नै छोडनुपर्ने स्थिति, कमिटी नै छोडनुपर्ने स्थिति भएपछि यो ७० वर्षे उमेरहद हटाउनु परेको हो ।’
अमेरिकामा ८० वर्षको मान्छेले राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरिरहेको उनले चर्चा गरे । शेरबहादुर देउवाजी ७७ वर्षको भए, पार्टी चलाई राखेका छन् । उनले भने । “७० वर्ष पार गरेर चीनमा राष्ट्रपति भएका छन् । ६५ वर्ष थियो साईप्रसमा । साईप्रसले पनि हटाइसक्यो” अध्यक्ष ओलीले थपे, “यस्ता कुरामा अल्मलिएर, अल्झेर बस्नु हुँदैन, दुनियाँमा कहीँ नभएको कुरा, कहीँ नभएको जात्रा हामीले गर्न किन जरुरी छ र ?”

