कांग्रेस बदल्ने अभियानमा महामन्त्री गगन थापा



काठमाडौं,असार १६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताएका छन्। उनले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टी एकसाथ सङ्कटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए । 

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गरे। 

महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन  पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा एउटा नेता ५, ६ पटक प्रधानमन्त्री भएको छ। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ सङ्कटमा पर्नुको थुर्पै कारणमध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी जमेको पोखरी जस्तै भए। कुनै व्यक्तिको दोष होइन। तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन। म उमेरको पनि कुरा गर्दिनँ। कांग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएका, सोच भएको नेताहरु हुुनुहुन्छ। हामी अमेरिकाको बाइडेनको कुरा गर्छौं। उमेर पनि होइन। त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति नहुने परम्परा छ। प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ।’’ 

प्रतिक्रिया दिनुहोस्