एमालेलाई अझ घेराबन्दीमा पार्ने काम भइरहेको छ : अध्यक्ष ओली



काठमाडौं,असार १८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई घेराबन्दी गरी सरकारमा जान नदिने षडयन्त्र जारी रहेको बताएका छन् । सोमवार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ को उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । 

देश समृद्धि होस्, जनता सुःखी रहुन् भन्ने ध्येयका साथ आफूले काम गरेका कारण आफू र एमालेविरुद्ध विरोधीहरुले घेराबन्दी कायमै राखेको उनको भनाइ छ । देश र जनताको समृद्धिको काममा आफू र आफ्नो दल जहिले लागिरहने उनले बताए । 

अध्यक्ष ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे । आफू सरकारमा सहभागी भएकाबेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता चार हजार बनाएको चर्चा गर्दै अध्यक्ष ओलीले भने,“देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै मेरो लागि सबैभन्दा ठूलो प्राप्ती हो ।” आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दुर्गम ठाउँहरुको अन्त्य हुनेगरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको उनले चर्चा गरे । 

ओलीले भने, ‘पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहरु, अपाङ्गता भएका व्यक्तिहरु समेतको प्रतिमहिना चार हजार दिनेगरी प्रवन्ध मिलाउने काम गरेको छु, अनाथ बालबालिकाको खाने बस्ने व्यवस्था मिलाएको छु ।” नेपाल भिखमंगाको देश नभएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्