एमालेविरूद्धकाे घेराबन्दी चिर्नुपर्छ : उपमहासचिव ज्ञवाली



सुर्खेत,असार २८ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेविरूद्ध चौतर्फी घेराबन्दी जारी रहेको बताएका छन् । हरेक विषयसँग जोडेर एमालेलाई बदनाम गराउने देशी विदेशी षड्यान्त्रलाई चिर्न पार्टीसम्बद्ध प्रचार तथा प्रकाशन कमिटीले कार्ययोजना बनाएर जनतामाझ पुर्याउन अनिवार्य रहेको उनले चर्चा गरे ।

कर्णाली प्रदेश  राजधानी सुर्खेतमा आयोजित एमाले प्रचार तथा प्रकाशन विभागको चौथो बैठकलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, “एमालेसँग सही विचार भए पनि जनतामा पुगेको छैन । सत्य कुरालाई योजनाबद्ध रुपले प्रचारमा लैजान आवश्यक छ ।”  उपमहासचिव ज्ञवालीले सार्वभौमसत्ता जनतामा निहित हुने कुरालाई बिर्सेर विदेशीको इसारामा सरकार गठन हुनेगरेको उनको भनाइ छ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपाली जनताको मनमा ठेस पुगेको उनले चर्चा गरे । 

एमाले परीक्षा दिएर उत्तीर्ण भएको पार्टी भएकाले नयाँ र पुरानो पार्टीसँग तुलना गर्न उपयुक्त नरहेको उनको भनाइ छ । एमालेले सुरूवात गरेका योजना र विचार कहिल्यै असफल नभएको उनले दाबी गरे । 

बैठकमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य यमलाल कँडेल, राजेन्द्र गौतम, गोरखबहादुर वोगटी, केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह, प्रचार विभाग सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आगामी योजनाका विषयमा धारणा राखे । एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारीले पढाइ, कमाइ र दबाईमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्