अस्पतालमा सरुवा रोगका बिरामी बढे



काठमाडौं,असार ३० । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको छ। 

चिकित्सकहरूले पछिल्लो समय अस्पतालहरूमा गर्मी मौसममा लाग्न सक्ने रोगका कारण बिरामीको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन्। सन् २०२३ मा उन्मूलन गर्ने भनिएको दादुरा सङ्क्रमण भएर कान्ति अस्पतालमा दैनिक एक, दुई जना बिरामी आउने गरेका छन्। 

यस्तै कान्तिबाल अस्पतालको बहिरङ्ग सेवामा एक हजारदेखि एक हजार दुई सयसम्म बिरामी आउने गरेका छन्। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्ला दिनमा झाडापखाला, आउँ, रुघाखोकी, ज्वरो तथा दादुराका बिरामी आउने गरेको बताए। उनले कतिपय बिरामी शरीरमा पानी नभएर जलविनियोजनको अवस्थामा अस्पताल आएको जानकारी दिँदै त्यस्ता बिरामीलाई तत्काल भर्ना गरेर राख्ने गरेको बताए । 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश कोइरालाले जाडो मौसमभन्दा गर्मीमा सरुवा रोग लागेर आउने बढी हुने गरेको बताए। उनले अस्पतालमा दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेकामा तीन सय बिरामी झाडापखाला, ज्वरो, फुड पोइजन, टाइफाइड, मलेरियालगायतका समस्या लिएर आउने गरेको बताए । उनले केन्द्रीय अस्पताल भएकाले रिफर भएर आउने बिरामीको सङ्ख्या बढी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्