नुवाकोटमा बाढीबाट २ हजार ७२३ जना बेपत्ता, ३ हजार ६३० जनाको उद्धार



नुवाकोट,कात्तिक ५ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीका कारण नुवाकोटमा २ हजार ७२३ जना बेपत्ता भएका छन्। गत भदौ १० गते बिहान १० बजे आएको बाढीले जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीमा परी हालसम्म २०५ जनाको शव फेला परेको छ भने ६६ जना घाइते भएका छन्। बाढीमा परेका स्वदेशी तथा विदेशी गरी ३ हजार ६३० जनाको हेलिकप्टर र स्थलगत माध्यमबाट उद्धार गरिएको प्रशासनिक अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए।

फेला परेका शवमध्ये ३९ वटा शव आफन्तको जिम्मा लगाइएको छ। पहिचान हुन नसकेका तथा बेवारिसे ११२ वटा शव बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पको खाली जमिनमा व्यवस्थापन गरिएको छ।

बाढीले विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा क्षति पुर्‍याएको छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जिल्लाभर २ हजार ८३१ घरमा क्षति पुगेको छ। तीमध्ये १ हजार ८६० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

सबैभन्दा बढी क्षति विदुर नगरपालिकामा भएको छ। नगरपालिकामा २ हजार ५५४ घरमा क्षति पुगेको छ भने १ हजार ६९० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यसैगरी, बेलकोटगढी नगरपालिकामा १९५ घरमा क्षति पुगेकोमा ११५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तारकेश्वर गाउँपालिकामा ४८ र किस्पाङ गाउँपालिकामा ३४ घरमा क्षति पुगेको प्रशासनिक अधिकृत नेपालले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यसँगै आवश्यक यातायात पूर्वाधार सञ्चालनलाई प्राथमिकता दिइएको विपद् व्यवस्थापन समितिले जनाएको छ। बाढीपीडितलाई आवश्यक परेको समयमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ।

विनाशकारी बाढीका कारण जिल्लामा ठूलो संख्यामा मानिस बेपत्ता हुनुका साथै हजारौँ परिवार घरबारविहीन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्