बिर्तामोडको बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु, तीन खसीबाख्रा पनि जले



झापा,कात्तिक ५ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। विद्युत् सर्ट भएर बिहीबार बिहान आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो।

ध्रुव भट्टराईको जग्गामा टिनको छानो भएको घरमा बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको ठूला सवारीसाधन मर्मत केन्द्रको क्यान्टिनमा बिहान करिब ४ः१० बजे आगलागी भएको थियो।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीमा परी गौरीगञ्ज गाउँपालिका–२ निवासी तामाङको मृत्यु भएको हो। आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा तथा एक लाख रुपैयाँ नगद जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा मात्रै करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो।

आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्