अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु



अर्घाखाँची, कात्तिक ५ । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–२ स्थित ढाकावाङ–सन्धिखर्क सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा बाबु र छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ८ः१० बजे लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनामा परी भूमिकास्थान नगरपालिका–८, लम्ची स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ६२ वर्षीय देविराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीको नेतृत्वमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्