बाढी प्रभावित २ हजार १६४ परिवारलाई रेडक्रसको १५ हजार नगद सहायता
नुवाकोट,कात्तिक ५ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित २ हजार १६४ परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराएको छ।
रेडक्रसले रसुवाको उत्तरगया गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका तथा धादिङको गल्छी र गजुरी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई उक्त सहायता रकम प्रदान गरेको हो।
नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित कुल ५ हजार परिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराउने योजना बनाएको छ। सोही योजनाअनुसार हालसम्म २ हजार १६४ परिवारले सहायता पाएका छन्।
बहुउद्देश्यीय नगद सहायता विपद् तथा संकटका बेला प्रभावित परिवारका तत्कालीन र आधारभूत आवश्यकता पूरा गर्न प्रदान गरिने मानवीय सहयोग हो। यसअन्तर्गत प्राप्त रकमबाट प्रभावित परिवारले आफ्नो आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि तथा आवास व्यवस्थापनमा खर्च गर्न सक्छन्।
यस प्रकारको सहायताले विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री खरिद गर्न र दैनिक जीवनयापन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

