सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको एमालेको निष्कर्ष



काठमाडौं,असार ३० । नेकपा (एमाले) ले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा शनिबार बसेको बैठकले सो आरोप लगाएको हो ।  

संवैधानिक संस्थाहरुमा हस्तक्षेप गरी लोकतन्त्रलाई खल्बल्याउने काम पनि सरकारले गरिरहेको एमालेको टिप्पणी छ । कोशी प्रदेश सभामा सत्ता गठबन्धनले संविधान बिरोधी क्रियाकलाप गरेको ठहर बैठकले गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।  

सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्य मान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको प्रहार भएको ठहर बैठकले गरेको उनले बताए । 

असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न एमालेले माग गरेको उनले बताए । देशभर फैलिएको लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपाया संक्रमित भएको, २७ हजार गाईवस्तुको ज्यान गएकाले त्यसको नियन्त्रणमा ध्यान दिन एमालेले सरकारसँग आग्रह गरेको छ । बैठकले वागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई जिम्मेवारी तोकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्