चामल निर्यातमा प्रतिबन्ध लगाउने भारतीय निर्णयले नेपाली बजारमा लुट, यस कारण छ- भाउ सस्तिने संभावना



काठमाडौं,साउन १८ । गत साउन ४ मा भारत सरकारले बासमती बाहेकका सेता चामलको निर्यात बन्द गर्ने घोषणा गर्यो । भारतले पछिल्ला ७ महिनामा यस किसिमका चामलको भाउ ३० प्रतिशत महँगिएको भन्दै घरेलु बजारमा मूल्य नियन्त्रण गर्न चामल निर्यात रोक्ने भनेको छ । यसको सीधा प्रभाव विश्व बजारमा परिसकेको छ । वैश्विक बजारमै पनि पछिल्ला ८ महिनामा १५–२० प्रतिशतले महँगिइसकेको चामलको भाउ अझै बढ्ने अनुमान गरिएको छ । भारतको उक्त निर्णयले विश्व बजारमा चामलको औसत दाम १५ प्रतिशत हाराहारी महँगिने अनुमान भइरहेका छन् ।

पृथ्वीकै सबैभन्दा धेरै चामल निर्यात गर्ने देश भारत हो । उसले विश्वब्यापी निर्यातको ४० प्रतिशत हिस्सा ओगट्छ । दोस्रोमा थाइल्याण्ड, तेस्रोमा भियतनाम, चौंथोमा पाकिस्तानको नाम चामल निर्यातक देशमा आउँछ । बर्मा, चीन, अमेरिका, कम्बोडिया, ब्राजिल र उरुग्वे पनि ठूला १० निर्यातकर्ता मुलुकमा पर्छन् । भारतले निर्यात गर्ने कुल चामलमध्ये ७५–८० प्रतिशत हिस्सा ओगट्ने गैरबासमती चामलमाथि प्रतिबन्ध लागेपछि यसले विश्व बजारमै प्रभाव पार्ने भएको छ ।

भारतबाट चीन, फिलिपिन्स, नाइजेरिया, इन्डोनेसिया, बंगलादेश जस्ता देशले बढी मात्रामा चामल खरीद गर्छन् । भुटान, इरान र इरिट्रियाजस्ता देशले शतप्रतिशत चामल आयातमा भारतसँगै निर्भर छन् । नेपालले कुल आयातको ९९ प्रतिशत र श्रीलंकाले ९६ प्रतिशत चामल भारतबाटै आयात गर्छ । सोमालिया, इथियोपिया, लाइबेरिया, मादागास्कार, सेन्ट्रल अफ्रिकन रिपब्लिक, रुवाण्डा, गिनीजस्ता अफ्रिकी देशहरु भारतीय चामलमै निर्भर छन् । कतारले ९० प्रतिशत र कुवेतले ९२ प्रतिशत चामल भारतसँगै किन्छ ।

ठूला बजारको कुरा गर्ने हो भने चीनले ४० प्रतिशतभन्दा धेरै चामल भारतसँग किन्छ । रुसले ५४ प्रतिशत, अमेरिकाले २१ प्रतिशत, इन्डोनेसियाले २७ प्रतिशत र नाइजेरियाले ५८ प्रतिशत चामल भारतबाट किन्छ । संसारका ४२ देशले आफ्नो कुल चामल आयातको ५० प्रतिशतभन्दा धेरै हिस्सा भारतसँगै किनिरहेका छन् । अफ्रिकामा चामलको खपत यसै पनि धेरै छ, त्यसमा लगातार बढोत्तरी भइरहेको छ । क्युवा, पानामाजस्ता चामल नै आहार र पोषणको महत्वपूर्ण पाटो हो । दक्षिण पूर्व एसियाली देशमा पनि आहार र पोषणका निम्ति चालम अधिक महत्वपूर्ण छ ।

गत साल भारतले विश्वका १४० देशलाई २ करोड २० लाख टन चामल बेचेको थियो । यसमध्ये ६० लाख टन सस्तो र मोटो चामल थियो । गत साल नै भारतले बासमतीको कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो र बासमती चामलको निर्यातमा २० प्रतिशत अतिरिक्त कर पनि लगाएको थियो । यस्तो अवस्थामा सब गैरबासमती अर्थात् सस्तो चामलको निर्यातमा भारतले लगाएको प्रतिबन्धका कारण संसारभर यसको मूल्य बढ्न थालेको छ । अन्तरराष्ट्रिय मुद्रा कोषका अर्थशास्त्रीहरुले भारतको यस निर्णयका कारण विश्व बजारमा खाद्यान्नको मूल्य नै १५ प्रतिशतसम्म बढ्न सक्ने आँकलन गरेका छन् ।

एकातिर पछिल्ला ८ महिनामा विश्व बजारमा चामलको भाउ १४–१५ प्रतिशत बढिसकेको अवस्था छ । अर्कातिर नयाँ धान भित्र्याएर चामल कुट्न अझै ३ महिना हाराहारी समय लाग्ने छ । दक्षिण एसियामा खराब मनसुन, वर्षाको प्रबृत्तीमा आएको उतारचढाव र पाकिस्तानमा आएको बाढीले चामलको आपूर्तिलाई झनै प्रभाव पार्ने देखिएको छ । त्यसमाथि पछिल्ला वर्षमा कयौं देशको स्थानीय मुद्रा ब्यापक मात्रामा सस्तिन पुगेका कारण पनि चामल किन्न ज्यादा महँगीको सामना गर्नुपर्ने अवस्था बनेको छ ।

भारतसँग अहिले ४ करोड १० लाख टन चामलको भण्डार छ । यो भनेको भारतको आवस्यकताभन्दा ३ गुणा बढी हो । पछिल्लो एक वर्षमा भारतमै पनि खाने कुराको महँगी उच्च दरमा बढेको छ । यस्तो बेला भारतभित्रै पनि चामल निर्यातमा प्रतिबन्ध लगाउन नहुने आवाज उठिरहेको छ। किनकी, यसले विश्वब्यापी खाद्य सुरक्षामा खतरा उत्पन्न हुन सक्छ । यद्यपि, खाद्य वस्तुमा सरकारहरुले लगाउने प्रतिबन्ध कुनै नयाँ कुरा होइन ।

गत साल रुसले युक्रेनमा हमला गर्नुअघि विश्वमा खाद्य सामग्रीको निर्यात प्रतिबन्ध लगाउने देश जम्मा ३ वटा थिए, जुन संख्या केही महिनामै १६ पुगेको थियो । इन्डोनेसियाले पाम तेलको निर्यातमा रोक लगाएको थियो । अर्जेन्टिनाले गाईको मासु र टर्की एवम् कीर्गिस्तानले कयौ खाद्य पदार्थको निर्यातमा रोक लगाएका थिए । कोभीड महामारीको पहिलो चार हप्तामा मात्रै २१ देशले अलग अलग खाद्य वस्तुको निर्यात प्रतिबन्ध लगाएका थिए । तर भारतको यस प्रतिबन्धले यसअघिका कयौं घटनाभन्दा निकै ठूलो खतरा उत्पन्न हुनसक्ने जोखिम बढेको छ ।

नेपालमा के पर्छ असर ?

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको खबर आउनासाथ नेपालका खुद्रा पसलहरूमा त्यसको असर देखिन थालिसकेको छ । काठमाडौंको बजारमा २५ किलोग्रामको बोरामै ३ सय रुपैयाँसम्म भाउ बढिसकेको व्यवसायीले बताउन थालेका छन् । उत्पादकहरुले अहिले नै चामलको मूल्य नबढाएको बताइरहे पनि खुद्रा बजारमा महँगीको मार परिसकेको छ । यद्यपि, आपूर्ति व्यवस्था खल्बलिँदा हुने मूल्यवृद्धिलाई रोक्न सरकारले प्रयास गर्ने भनेको छ । यस विषयमा भारतसँग कुराकानी गर्ने भन्दै सरकारी अधिकारीहरुले आस्वासन दिइरहेका छन् ।

नेपालको वार्षिक सरदर धान उत्पादन ५५ लाख मेट्रिक टन हाराहारी छ । त्यसबाहेक ६–७ लाख टन बाहिरबाट ल्याइने गरेको छ । व्यवसायीहरुका अनुसार वर्षमा करिब १५ लाख मेट्रिक टन धान अथवा त्यही बराबरको धान–चामल भारतबाट आयात गर्नुपर्ने अवस्था छ । नेपाल राष्ट्र बैंकले गएको साउनदेखि जेठसम्मका ११ महिनामा करिब ३३ अर्ब बराबरको धानचामल आयात भएको जनाएको छ ।

तर यस्तो धानचामल मानवीय उपभोगका निम्तिमात्रै हुँदैन । ठूला दाना उद्योगहरुले ककिनका, भुस र ढुटो उत्पादनका लागि पनि धान आयात गर्ने गरेका छन् । कनिका पनि नेपालमा आयात हुने गरेको छ । मदिरा उद्योगहरुले पनि ठूलो मात्रामा चामल आयात गरिरहेका छन् । त्यसमाथि कतिपय व्यवसायीले चामल भनेर चिनी आयात गरेको पनि भेटिएका छन् । यसले वास्तवमा चामल आयातको बजार विश्लेषण भने नभएको पाइन्छ ।

हाल देशको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान २४ प्रतिशत वा झन्डै एक चौथाइ रहेको छ । कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको मात्रै योगदान १५ प्रतिशत रहेको छ । यस आंकडाले राष्ट्रिय अर्थतन्त्रमा धान उत्पादनले ठूलै हिस्सा ओगट्ने देखाउँछ । खाद्य सुरक्षाको दृष्टिकोणबाट त चामलको महत्त्व सर्वाधिक रहेको छ । नेपालीहरुले दिनभरमा प्राप्त गर्ने कुल क्यालोरिमध्ये ३१ प्रतिशत चामलबाट प्राप्त गर्ने गरेको संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठनले उल्लेख गरेको छ ।

गत वर्ष देशभर साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको थियो भने त्यसबाट करीब ५५ लाख टन धान फलेको थियो । तर यसवर्ष साउनको मध्यसम्म आइपुग्दा पनि अझै एक तिहाइ भूभागमा रोपाइँ हुन सकेको छैन । तराईमा पानी नपरेको र सिंचाई सुविधा नभएका कारण रोपाइँ हुन सकेको छैन ।

अर्कातिर चैतयता फैलिएको ‘लम्पी स्किन’ रोगको प्रकोपका कारण देशभर कम्तिमा पनि ५० हजार गाईभैँसी मरिसकेको बताइएको छ । अरु १० लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । जसले गर्दा रोपाइँमा गोरूको प्रयोग गर्न धेरै किसानलाई कठिनाइ भएको छ । यस्तो अवस्थामा यदि वर्षाको बाँकी अवधिमा पनि ती ठाउँमा पर्याप्त पानी परेन भने धान उत्पादनमा गम्भीर असर पर्ने पक्का छ ।

तर नेपालका लागि भारतको उक्त प्रतिबन्धबाट बच्ने विकल्प भने कायमै छ । नेपाल सरकारले भारतलाई यस किसिमको प्रतिबन्धबाट आफूलाई छुट दिन आग्रह गरेको अनौपचारिक विवरणहरु आएका छन् । यसअघि पनि भारतले केही वस्तुको निर्यातमा लगाएको प्रतिबन्धमा नेपाल र भुटानलाई छुट दिएको थियो । त्यसमाथि खुला सीमाको लाभ पनि नेपालले विगतमा लिँदै आएको छ । यसै पनि भारतसँग उसलाई चाहिनेभन्दा ३ गुणा बढी चामल मौज्दात भएका कारण नेपाल र भुटानलाई यसअघि जस्तै छुट दिन धेरै कठिनाइ पर्ने छैन ।

यस्तोमा भारतले मूल्य नियन्त्रणका लागि चालेको उक्त कदमले भविष्यमा नेपाललाई लाभ पुग्न पनि सक्छ । किन की, भारतमा मूल्य बृद्धि रोकियो भने त्यसले नेपाली बजारमा पनि चामलको महँगी रोक्न मद्दत गर्न सक्छ । तर यसका लागि नेपालले बलियो कूटनीतिक पहल गर्नु आवस्यक हुने जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्