नुवाकोटको लिखुमा ग्राण्डी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुँदै
नुवाकोट,बैशाख २२ — बागमती प्रदेशअन्तर्गत नुवाकोट लिखु गाउँपालिकामा नसा (न्युरोलोजी) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल को प्राविधिक सहयोगमा गाउँपालिकाले उक्त शिविर सञ्चालन गर्न लागेको हो।
शिविरमा बरिष्ठ न्यूरोलोजिस्ट डा. राजू पौडेलले मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी सचेतनामूलक कक्षा प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। साथै, बरिष्ठ चिकित्सकहरूको टोलीले बिरामीहरूको जाँच तथा आवश्यक परामर्श दिइने अस्पतालका माधब शर्माले जानकारी दिए।
शिविरमा टाउको दुखाइ, माइग्रेन, जिउ पोल्ने, हातखुट्टा लाटो हुने, छारे रोगलगायत नसा सम्बन्धी सम्पूर्ण समस्याको परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइनेछ। यसका साथै सुगर र रक्तचाप (प्रेसर) जाँचसमेत निःशुल्क गरिने जनाइएको छ।
उक्त स्वास्थ्य शिविर यहीँ वैशाख २६ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म क्षेत्रपाल माध्यमिक विद्यालय चौघडा मा सञ्चालन हुनेछ। थप जानकारीका लागि ९८५१३३०५९९ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।


