‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ मन्त्रिपरिषदबाट स्वीकृत



काठमाडौं,साउन २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले उक्त नीति स्वीकृत भएको जानकारी दिएको छ । यससँगै साइबर सुरक्षा विधेयक अघि बढाउन बाटो खुलेको छ । 

नीति स्वीकृत हुनुअघि साउन ४ गते सूचना निकाल्दै मन्त्रालयले राय सुझाव समेत मागेको थियो । साइबर स्पेसलाई सशक्त र सुदृढ बनाउन भन्दै मुख्य ९ ओटा रणनीतिसहित मस्यौदा तयार पारिएको थियो ।  

सुरक्षित, भरपर्दो र उत्थानशील साइबर स्पेस बनाउन आवश्यक कानून एवम् मापदण्डहरू तर्जुमा गर्ने, सूचना एवम् सूचना तथा सञ्चार प्रविधि प्रणालीको सुरक्षा गर्न अन्तरराष्ट्रिय प्रचलन समेतको आधारमा संस्थागत संरचनाहरू निर्माण एवम् सुदृढीकरण गर्ने, साइबर सरुक्षालाई सदृढ गर्न सबल एवम् सुरक्षित प्रविधि, पूर्वाधार र प्रक्रियाको व्यवस्था गरी संवेदनशील राष्ट्रिय पूर्वाधारको पहिचान गरी संरक्षण गर्ने रणनीति तय भएको छ ।

त्यस्तै, साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन र क्षमता विकास गर्ने, साइबर सुरक्षाको विषयमा जनचेतना अभिवृद्धि गर्ने, सुरक्षित साइबर स्पेस निर्माणका लागि सार्वजनिक निकाय तथा निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य गर्ने, साइबर सुरक्षालाई सुदृढ गर्न अन्य मुलुक तथा अन्तरराष्ट्रिय संघ-संगठनहरूसँग समन्वय एवम् सहकार्य गर्ने, सुरक्षित अनलाइन स्पेस निर्माण गर्ने तथा सफ्टवेयर विकासकर्ता एवम् आपूर्तिकर्तालाई जिम्मेवार बनाइने रणनीतिसहित मस्यौदा तयार पारिएको थियो ।

यो विधेयक मन्त्रिपरिषदबाट प्रमाणीकरण भएर आउन समय लाग्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्