खुल्यो जग्गा कित्ताकाटको गाँठो : अर्थतन्त्र चलायमान हुने विश्वास
काठमाडौं,साउन ३२ । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको हो। भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालयका प्रवक्ता प्रकाश जोशीका अनुसार जग्गा कित्ताकाट खुकुलो गराउँदा अर्थतन्त्र चलायमान हुने र घरजग्गा किनबेचमा भइरहेको जटिलता अन्त्य हुन्छ। यसअघि सरकारले स्थानीय तहलाई जग्गा वर्गीकरणको जिम्मा दिइएको थियो । धेरै स्थानीय तहले समयमै जग्गा वर्गीकरण गर्न नसकेकाले कित्ताकाट खुला गर्नुपरेको उनको भनाइ छ।
उनले भने, “पहिले जग्गा वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्न पाइने व्यवस्था थियो। धेरै स्थानीय तहले जग्गा वर्गीकरण गर्न बाँकी रहेकाले घरजग्गा किनबेचमा नै समस्या भएको गुनासो बढी आएकाले फुकुवा गरिएको हो।” यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर जग्गा कित्ताकाट रोकेको थियो। ७५३ स्थानीय तहमध्ये १७० हाराहारी स्थानीय तहले मात्र अहिलेसम्म जग्गाको वर्गीकरण गरेका छन्। जग्गा कित्ताकाट फुकुवा भएपछि जग्गा व्यवसायीलाई राहत मिलेको छ।
मन्त्रालयले वैशाखमै भू-उपयोग नीतिलाई स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पठाएको थियो। तर, मन्त्रिपरिषद्ले केही कुराहरू संशोधन गरेर मात्र पेस गर्नुपर्ने भन्दै फिर्ता पठाएको थियो। सहरी विकास मन्त्रालय र कानुन मन्त्रालयको राय सुझावसहित परिमार्जन गरेर भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुनः मन्त्रिपरिषद् बैठकमा पठाएको थियो। प्रवक्ता जोशीका अनुसार जग्गा वर्गीकरण गर्न नभ्याएको ठाउँमा थप एक वर्षको समय दिइनेछ। तर, वर्गीकरणकै कारण भने जग्गाको कित्ताकाट नरोकिने उनी बताउँछन् ।

