नागरिकलाई समृद्ध बनाउने कांग्रेसको लक्ष्य : प्रवक्ता डा.महत
काठमाडौं,भदौ २ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने लक्ष्य भएको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भने, ‘‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो ।’’
प्रवक्ता महतले भने, ‘‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’’
डा. महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरेका छन् । उनले भने, ‘‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’’

