ललिता निवास प्रकरण: गैर कानुनी कार्य नगरेको भट्टराईको भनाइ



काठमाडौँ,भदौ २ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ नगरेको र आफूले कसैसँग “उन्मुक्ति” को याचना नगरेको स्पष्ट पारे ।

‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन’, उनले भनेका छन् , ‘ललिता निवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैर कानुनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।’

भट्टराईले केही समय यता यो प्रकरणमा आफूलाई जवर्जस्ती मुछ्ने, अपराधी झैं दुष्प्रचार गर्ने, सम्बन्धित निकायले कुनै सोधपुछ तथा छानबिन नगर्ने र उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारबाजी भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्