नेपालबाट विदेशीले लैजान्छन् वर्षेनि अर्बौँ रेमिट्यान्स, गत वर्ष साढे ६ अर्ब बढी बाहिरियो



काठमाडौँ,भदौ ३ । गत आर्थिक २०७९/८० मा नेपालमा काम गर्न आउने विदेशी कामदारले आफ्नो देशमा ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स पठाएका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त गत आवको तथ्याङ्कले यस्तो देखाएको हो । 

यद्यपि, यो अघिल्लो आव २०७८/७९ को तुलनामा १४ प्रतिशतले कम हो । सो आवमा नेपालबाट ७ अर्ब ६७ करोड ९१ लाख रेमिट्यान्स बाहिरिएको थियो । त्यसअघि २०७७/७८ मा भने ६ अर्ब १ करोड ८५ लाख रेमिट्यान्स बाहिरिएको थियो । 

नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने विदेशी कामदारले सो बराबरको रेमिट्यान्स आफ्नो देश पठाएका हुन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।

पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण बाहिरिने रेमिट्यान्स घटेको प्रारम्भिक अनुमान समेत गरिएको छ । आर्थिक सङ्कटका कारण नेपालमा बढी मात्रामा रोजगारी सिर्जना हुन सकेको छैन । फलस्वरूप विदेशबाट आउने कामदार त्यति बढेका छैनन् । साथै, महँगी बढ्दा नेपालमा बसोबास गर्ने विदेशी कामदारको खर्च बढेको छ । यी यस्ता कारण बाहिरीले रेमिट्यान्स घटेको हुन सक्ने जानकारहरू बत्ताउँछन् । 

नेपालमा विदेशी लगानीका कम्पनी, आयोजनाहरूमा विदेशी कर्मचारी छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थामा समेत विदेशी कर्मचारी छन् । जलविद्युत आयोजनाहरूमा पनि चिनियाँ, भारतीय कामदारहरू आउने गर्छन् । उनीहरूले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पटाउँछन् । 

यद्यपि, नेपालका अनौपचारिक क्षेत्रमा भारतीय कामदार थुप्रै छन् । उनीहरूले अनौपचारिक रूपमा (नगद बोकेर) नै आफूले कमाएको पैसा आफ्नो देशमा लैजाने गर्छन् । मुख्य रूपमा नेपालबाट भारतमा ठुलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् । 

नेपालमा आएर थुप्रै भारतीयहरू नागरिकहरू आएर अनौपचारिक रूपमा काम गर्छन् । उनीहरू चटपट बिक्री, फलफूल बिक्री गर्ने, सडक तथा निर्माणजन्य काममा आबद्ध भएका छन् । त्यसबाट उनीहरूले आफूले कमाएको पैसा अनौपचारिक रूपमै लैजान्छन्, यसको हिसाब भने छैन । 

नेपालमा आएर औपचारिक रूपमा काम गर्ने भारतीय, चाइनिज लगायतका देशका नागरिकले रेमिट्यान्स लैजाने गरेका छन् । नेपालका जलविद्युत आयोजनाहरूमा चिनियाँ कामदार छन् । डावर नेपाल, युनिलिभर जस्ता मल्टीनेशन कम्पनीमा विदेशी कर्मचारी छन् । उनीहरूले यहाँ कमाएको पैसा रेमिट्यान्स मार्फत आफ्नो देश पटाउँछन्, जसरी नेपालीले बाहिर गएर नेपालमा रेमिट्यान्स पटाउँछन् । यो वर्ष नेपालमा १२ खर्ब २० अर्ब रेमिट्यान्स आएको छ । 

गत वर्ष विप्रेषण आप्रवाह (रेमिट्यान्स) दोहोरो अङ्कले वृद्धि गएको हो । एक वर्षमा नेपाल भित्रने रेमिट्यान्स २१ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्ष भने विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । गत वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्