स्वाइनफ्लुबाट चितवनमा ७ करोडको क्षति, एकै किसानको ४ करोडका बंगुर मरे !
चितवन,भदौ ४ । गत आर्थिक वर्ष (आव) ०७८/०७९ मा चितवनमा स्वाइनफ्लुबाट झण्डै सात करोड रुपैयाँको क्षति भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, चितवनको तथ्याङ्कअनुसार ११ ओटा फार्मका तीन हजार तीन सय १२ बंगुर मर्दा ६ करोड ९७ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
पशु चिकित्सक डा. रामचन्द्र आचार्यले गत आवमा चितवनका बंगुरपालन किसानले स्वाइनफ्लु संक्रमणबाट ठूलो क्षति बेहोर्नुपरेको बताए । स्वाइनफ्लुको प्रकोपबाट बंगुर मर्न थालेपछि ती खोरमा तत्कालै नयांँ पाठा राख्न नदिएको उनको भनाइ छ । खोर पूर्णरूपमा निर्मलीकरण भएपछि मात्रै किसानले बंगुरका पाठा राख्न थालेको उनले बताए ।
डा. आर्चायका अनुसार एकपटक संक्रमण देखिएको खोरमा पनि एक हजार दिनसम्म संक्रमण हुन सक्ने देखिन्छ । त्यसपछि मात्रै पशुपंक्षी राख्न सकिने उनले बताए ।
‘अफ्रिकन स्वाइन फिभर’ नामक सरूवा भाइरसका कारण चितवनका व्यावसायिक बंगुरपालक किसानको खोर नै रित्तिएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, भरतपुरको तथ्याङ्कअनुसार चितवनमा २०७९ साउन ८ गते पहिलोपटक यो रोग देखा परेको थियो ।
त्यसयता संक्रमण फैलिने क्रम नरोकिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रकी प्राविधिक सजना राईले पछिल्लो समय गत जेठ १० मा भरतपुर–१, ठिमुराको एउटा फार्ममा यो समस्या देखापरेको बताइन्, उक्त फार्ममा ४६ ओटा बंगुर मरेका थिए ।
उनका अनुसार संक्रमण फैलिएको फार्ममा ७५ प्रतिशतसम्म बंगुर मरेका छन् । ‘एउटा खोरमा सङ्क्रमण फैलिइसकेपछि त्यसलाई निःसङ्क्रमण बनाएर पनि तीन महिनासम्म त्यही खोर पुनःप्रयोग गर्न नमिल्ने देखिन्छ,’ उनले भनिन् ।
चितवनमा सबैभन्दा ठूलो क्षति किसान नरेन्द्रकुमार कन्दङ्वा लिम्बूको अफ्रिकन स्वाइन फिभरबाट एक हजार दुई सय ५० बंगुर मरेका थिए । उनको फार्ममा मात्रै करीब चार करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उनको भनाइ छ ।
किसानको समस्याबारे सरकारले राहत उपलब्ध गराउने भएपछि जिल्लामा ११ ओटै फर्मबाट आवेदन परेको थियो । ती सबै फर्मको क्षति विवरण मन्त्रालयमा पठाइसकिएकाले राहत रकम पाउने प्रक्रिया शुुरू भइसकेको केन्द्रले जनाएको छ ।

